आर्थिक

डेढ अर्बको लगानीमा गाई फार्म चलाउने ईञ्जिनियरको यस्तो छ तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १० गते ६:१२
डेढ अर्बको लगानीमा गाई फार्म चलाउने ईञ्जिनियरको यस्तो छ तयारी (भिडियोसहित)

१० भदौ, २०७७, पर्सा । पर्साको ठोरीमा एकजना इन्जिनियरले डेढ अर्बको लगानीमा व्यवसायिक रुपमा आधुनिक गाई फार्म संचालनको तयारी गरेका छन् । यो फार्ममा दुई हजार गाई, ४ सय केभी क्षमताको बायो ग्यास प्लान्टसहित गाईको दाना उत्पादन समेत गर्ने उद्योग समेत चलाउने तयारी छ ।

वीरगन्जबाट करिब ६० किलोमिटर पश्चिम ठोरी गाउँपालिका वडा नम्बर ५ स्वर्णपूरमा करिव डेढ अर्व लगानीमा नमुना गाई फर्म संचालनको तयारी भइरहेको छ । पकाहामैनपुरका धोरेका ईन्जीनियर श्यामबदन यादवले २ हजार गाई पालेर दैनिक ३० हजार लिटर दुध उत्पादन गर्ने लक्ष्यसहित कृषि फार्म स्थापना गर्नुभएको छ ।

भारतको बैगलोरबाट कम्प्यूटर ईन्जिनियरिङ गरेपछि मासिक डेढ लाखको तलब छोडेर स्वदेश फर्किएका ४० वर्षीय यादवले १० वर्षअघि आफ्नै गाउँमा कलश मिल्क ईण्डिस्टिज प्रालि सञ्चालनमा ल्याउनु भएको थियो । २० करोडको पूँजीबाट गाई फार्म तथा डेरी सञ्चालन गरिरहेका यादवले अहिले त्यसलाई विस्तार गर्न लाग्नुभएको हो ।

पूर्ण स्वचालीत मेशीनबाट फार्म सञ्चालन गर्ने तयारी भइरहेको छ । जर्मनीबाट आयात गरीने मेशीनले दुध दुहुने, गोबर फाल्ने, दानापानी दिने र हेरचाहको काम गर्ने छ । गाई विरामी भएको, मिल्क फिभर आएको पनि सफ्टवेयर जडित उपकरणले पत्ता लगाउने छ ।

यादवले सञ्चालन गर्ने गाई फार्मले सफलता पाए देशमा मात्र नभई विदेशमा पनि दुध आपुर्ति गरेर राज्यलाई ठूलो सहयोग पुग्ने विज्ञको विश्वास छ ।

वन्यजन्तु आरक्ष नजिकै भएको र स्थानीयले केही वर्षदेखि होम स्टे पनि सञ्चालन गरिरहेकाले यो गाई फार्मलाई पर्यटनसँग पनि जोड्न सकिने संभावना छ । त्यसका लागि स्थानीय जनप्रतिनिधिले प्रयास गरिरहेका छन् ।

पछिल्लो पटक ठोरी गाउँपालिकामा व्यवसायीक पशुपालन, व्यवसायीक खेती र रिसोर्टका लागि जग्गा किन्नेको संख्या बढ्न थालेको छ । यसबाट सदरमुकाम केन्द्रित व्यवसाय ग्रामिण भेगमा फैलाउन मद्धत पुगको छ । ठुलो लगानीमा बन्न लागेको गाइ फार्मले स्थानीयलाई रोजगारी दिनुका साथै दुधमा मुलुकलाई आत्मनिर्भर बनाउन योगदान दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *