समाज

नेपालकै एउटा यस्तो गाउँः कुन गाउँ होला जहाँ कोरोना त्रास छैन ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ९ गते १७:५५
नेपालकै एउटा यस्तो गाउँः कुन गाउँ होला जहाँ कोरोना त्रास छैन ? (भिडियोसहित)

९ भदौ, २०७७, काठमाडौं । पछिल्लो समय देशैभर कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । त्यसैले संक्रमण नियन्त्रणका लागि झण्डै तीन दर्जन जिल्लामा पूर्ण निषेधाज्ञा र एक दर्जनभन्दा बढी जिल्लामा आंशिक निषेधाज्ञा छ । तर कास्कीको एउटा गाउँमा भने कोरोनाको कुनै त्रास छैन । र त्यहाँको जनजीवन अहिले पनि सामान्य छ ।

पछाडी सेतो कुहिरोले ढाकेको र हरियालीमा लुकेको यो सुन्दर गाउँ हो, कास्कीको घान्द्रुक । कोरोना भाइरस संक्रमणको बढ्दो ग्राफले देशका सबैजसो स्थानीय तह प्रभावित हुँदा अन्नपूर्ण गाउँपालिको घान्द्रुकमा भने कोरोनाको कुनै त्रास छैन ।

अन्नपूर्ण गाउँपालिका भरिमा नै यो अहिलेसम्म कोरोना भाइरसका एक जना पनि संक्रमित भेटिएका छैनन् । आसपासका अन्य गाउँपालिका र पोखरामा पनि संक्रमितको संख्या बढिरहँदा यो गाउँ कसरी सुरक्षित रह्यो त ?

आमा समूह,स्थानीय क्लब, जनप्रतिनिधिको सहकार्यमा यो ठाउँ अहिलेसम्म सुरक्षित छ । प्रहरीले पनि स्थानीय बासिन्दासँग मिलेर काम गरिरहेको छ । नयाँ मान्छेलाई सकेसम्म यो गाउँमा प्रवेश दिइन्न। आउनै पर्ने अवस्था भए पनि क्वारेन्टिनमा अनिवार्य बसेर मात्र घर पठाइन्छ ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने यो क्षेत्रका होटल व्यवसाय गएको ७ महिनादेखि बन्द छन् । र यसले यहाँका व्यवसायीहरुलाई मर्का त परेकै छ । तर स्वास्थ्यलाई उनीहरुले पहिलो प्राथमिकता दिएका छन् । र भदौ महिनाभरि नै बाहिरका मान्छेलाई ढोका नखोल्ने भनेका छन् ।

पछिल्लो समय देशैभरि कोरोना संक्रमित बढिरहेका छन् । त्यसैले यहाँ जोखिमको सम्भावना कायमै छ । तर स्वास्थ्यकर्मी र स्थानीयबासिन्दाले जोखिमको यो सम्भावनालाई चिर्न र सकेसम्म यो ठाउँलाई आगामी दिनमा पनि सुरक्षित राख्न सचेतनामुलक कार्यक्रम गरिरहेका छन् । र आवश्यक परे केही समयको लागि गाउँभित्र र बाहिर सबै प्रकारका आवतजावत बन्द गर्ने पनि उनीहरुको तयारी छ ।

कोरोना भाइरसको संक्रमण कहिले निर्मुल हुन्छ थाहा छैन । तर घान्द्रुकका बासिन्दाको जस्तो सतर्कता अपनाउन सक्ने र सचेत बन्ने हो भने कारोनाविरुद्धको लडाइँ भने अवश्य जित्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *