राजनीति

नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता, १३ गतेका लागि बोलाइयो सचिवालय बैठक

हिमालय टिभी
२०७७ भदौ ९ गते १३:१६
नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता, १३ गतेका लागि बोलाइयो सचिवालय बैठक

९ भदौ, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलले आगामी १३ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको छ ।

आज बिहान अध्यक्ष ओली र प्रचण्डबीच भएको छलफलले महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न आगामी १३ गते सचिवालय बैठक बोलाउने निर्णय गरेका हो ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार डेढ घन्टा लामो छलफलमा पार्टीभित्रको समस्या समाधानका लागि दुई अध्यक्ष सकारात्मक भएको छन् । १३ गते बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठकलाई निरन्तरता दिनेगरी मिति तोक्नेछ । असार १८ गतेदेखि नेकपाको स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ ।

साउन १३ गते एकपक्षीय रुपमा ओली समुहले बैठक स्थगित गरेपछि प्रचण्ड(नेपाल समुहले बुहमतको आधारमा बैठक सञ्चालन गरेको थियो । पार्टीको चालू स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओ‌लीको दुवै पदबाट राजीनामा माग भएपछि पार्टी फुटबाट जोगाउन भन्दै महासचिव पौडेलको संयोजकत्वमा साउन ३० गते ६ सदस्यी कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा प्रचण्ड पक्षबाट जनार्दशन शर्मा, पम्फा भुषाल, ओली पक्षबाट महासचिव पौडेल, शंकर पोख्रेल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट सुरेन्द्र पाण्डे र भीम रावल थिए । कार्यदलले ८ दिनको गृहकार्यपछि गत ६ गते दुई अध्यक्षलाई प्रतिवेदन बुझाएको थियो ।

कार्यदलले बुझाएको १७ पुष्ठ लामो प्रतिवेदनमा प्रतिनिधिसभाको बाँकी कार्यकाल ओली नै प्रधानमन्त्री हुने, प्रचण्ड महाधिवेशनसम्म कार्यकारी अध्यक्ष हुने, पार्टीको महाधिवेशन आगामी चैत अन्तिम साता गर्नेलगायत पार्टी र सरकारलाई प्रभावकारी बनाउन सम्रग रुपमा सुझाव दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्