आर्थिक

आयातसँगै घट्यो ब्यापार घाटा (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ८ गते ६:०९
आयातसँगै घट्यो ब्यापार घाटा (भिडियोसहित)

८ भदौ, २०७७, काठमाडौं । भन्सार विभागको पछिल्लो तथ्यांकले प्रतिकुल अवस्थाका बाबजुद चालू आर्थिक वर्षेको पहिलो महिनामा निर्यात बढेको देखाएको छ । निर्यात ८ दशमलव ८७ ले घटेको साउनमा आयात १९ दशमलव ६ प्रतिशत घटेको छ ।

आयातमा आएको गिरावटले व्यापार घाटा २२ प्रतिशतले घटेको छ । यसले गर्दा अघिल्लो वर्षको साउनको तुलनामा यो वर्ष भन्सार राजस्व ४ अर्ब ७० करोड रुपैयाँले कमी आएको छ ।

भन्सार विभागका अनुसार अघिल्लो वर्षको तुलनामा यो आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक व्यापार ४ अर्ब ४७ करोड रुपैयाँले संकुचित भएको छ । साउनमा ९५ अर्ब ४१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । जबकी गत वर्षको साउनमा १ खर्ब १५ अर्ब रूपैयाँको वैदेशिक व्यापार भएको थियो । कोरोना महामारीका कारण वैदेशिक व्यापार अझै पुरानै लयमा फर्कन नसकेको देखिएको छ ।

साउनमा ८५ अर्ब ८० करोड रूपैयाँको कूल वस्तु आयात भएको छ । यो अघिल्लो वर्षको साउनको तुलनामा १९ दशमलव ६ प्रतिशतले कम हो । गत वर्षको साउनमा १ खर्ब ६ अर्ब रूपैयाँको मालवस्तु भित्रिएको थियो । चैतअघि मासिकरुपमा १ खर्बमाथिको मालसामान भित्रिने गरेको थियो ।

तर चैतयता भने आयातको आँकडा अर्बमा सीमित हुन थालेको छ । साउनमा निर्यात भने ८ दशमलव ८ प्रतिशतले बढेको छ । गत वर्षको साउनमा ८ अर्ब ८३ करोड रुपैयाँ बराबरको मालसामान निर्यात भएको थियो । तर यस वर्षको साउनमा ९ अर्ब ६१ करोड रूपैयाँको निर्यात भएको छ ।

आयात र निर्यातको यो आँकडाबाट साउनमा मुलुकलाई ७६ अर्ब १९ करोड रूपैयाँको व्यापार घाटा भएको छ । यद्यपी गत आर्थिक वर्षको तुलनामा व्यापार घाटा २२ प्रतिशतले कम भएको हो । गत वर्षको साउनमा व्यापार घाटा ९७ अर्ब ८८ करोड रूपैयाँ थियो ।

पेट्रेलियम पदार्थ, सवारीसाधन तथा पार्टपुर्जाको आयातमा आएको गिरावटका कारण वैदेशिक व्यापार घाटा केहि खुम्चिएको हो । तर व्यापार घाटामा आएको ‍कमीको सिधा असर भने भन्सारतर्फको राजस्व संकलनमा देखिएको छ । गत वर्षको तुलनामा यो वर्षको साउनमा भन्सार राजस्व ४ अर्ब ७० करोड रुपैयाँले घटेको छ ।

साउनमा २२ अर्ब ८४ करोड रूपैयाँ संकलन भएको छ । गत वर्षको साउनमा २७ अर्ब ५४ करोड रूपैयाँ राजस्व संकलन भएको थियो । गत वर्षको तुलनामा भन्सार राजस्व घटे पनि विभागको आफ्नै लक्ष्यभन्दा बढि हो ।

अर्थ मन्त्रालयले वैदेशिक व्यापारमा आउने सम्भावित संकुचनलाई ध्यानमा राखेर विभागलाई १९ अर्ब ९९ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिदिएको थियो । तर विभागले लक्ष्यभन्दा २ अर्ब ८५ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको हो ।

असार १ गतेदेखि लकडाउन खुकुलो पारिएपछि वैदेशिक व्यापार सहज हुँदै गएपनि पुरानै अवस्थामा फर्कन अझै समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *