समाज

भारतमा लकडाउन खुलेसँगै नेपाल फर्कने नेपालीको संख्या फेरि बढ्यो (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ७ गते १६:४७
भारतमा लकडाउन खुलेसँगै नेपाल फर्कने नेपालीको संख्या फेरि बढ्यो (भिडियोसहित)

७ भदौ, २०७७, धनगढी । विदेशमा अलपत्र नेपालीलाई गत जेठदेखि नेपाल आउन दिएपछि सुदूरपश्चिमका विभिन्न नाकाबाट मात्रै करिब ४ लाख नागरिक भित्रिए ।

शुरुवाती चरणमा भारतबाट आउनेको निकै भिड भए पनि केही दिन पछि त्यो संख्या घट्दै गयो । अहिले भारतमा लकडाउन खुलेपछि सुदूरपश्चिमको मुख्य नाका त्रिनगर भएर स्वदेश फर्किने नागरिकको संख्या फेरि बढ्न थालेको छ ।

कोरोना महामारीपछि चैत र वैशाखमा भारतसँगको नाका बन्द गर्दै सरकारले कसैलाई पनि आउन नदिने घोषणा गर्‍यो । तर यो बिचमा पनि सीमामा अलपत्र नागरिक नेपाल भित्रिए । त्यसपछि सरकराले जेठमा भारतमा अलपत्र नागरिकलाई आउन दिने औपचारिक निर्णय नै गर्‍यो ।

नेपालमा लकडाउन लगाएको पाँच महिना हुनै लागेको छ । तर पनि भारतबाट स्वदेश फर्कनेको लर्को रोकिएको छैन । शुरुवाती अवस्थामा दैनिक ज्यालादारीमा काम गर्ने अथवा रोजगारी गुमेर समस्यामा परेका नागरिक स्वदेश फर्के पनि अहिले परिवारसहित बसेकासमेत नेपाल फर्किरहेका छन् । भारतमा लकडाउन खुलेपनि होटेल सञ्चालनमा नआउँदा उनीहरु स्वदेश फर्किरहेका हुन् ।

कैलालीको त्रिनगर नाकाबाट अहिले पनि दैनिक २ सय देखि ५ सय जनासम्म स्वदेश फर्किरहेका छन । जिल्ला प्रशासन कार्यालयले बिहिबार रातिदेखि कैलालीमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण कैलालीका बजार र टोल सुनसान भए पनि नाकामा भने गन्तव्य स्थानसम्म पुग्ने चाहनासहित भारतबाट फर्कनेको लर्को जारी छ ।

नाकाबाट भित्रिनेलाई ‘थर्मल गन’ ले ज्वरो जाँच्ने काम भइरहेको छ । साथै सुरक्षाकर्मीले उनीहरुको नाम, जाने स्थानका बारेमा जानकारी लिइरहेका छन् । चाडबाड नजिकिएसँगै आउने क्रम फेरि बढ्ने आँकलन गरिएको छ । अहिले पहिलाको जस्तो नाकामै आएर स्थानीय तहले क्वारन्टिनमा लैजाने गरेका छैनन् । त्यसैले भारतबाट आउनेहरु आफैंले गाडी रिजर्ब गरेर गन्तव्यमा पुगिरहेका छन ।

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले बाहिरबाट आउने सबैलाई क्वारन्टिनमै राख्न निर्देशन दिएको छ । प्रदेशका अधिकाशं स्थानीय तहले अहिले क्वारन्टिन खाली गराएर होम क्वारेन्टाइनमै राखिरहेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा धेरै परिवार एकै घरमुनी बसिरहेकाले होम क्वारन्टिन कोरोना संक्रमण फैलाउने माध्यम हुन सक्छ । त्यसैले यसमा सम्बन्धीत निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *