भेरी अस्पतालमा कोरोनाका गम्भीर विरामीका लागि ५० बेडको छुट्टै वार्ड (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ६ गते १६:२७
भेरी अस्पतालमा कोरोनाका गम्भीर विरामीका लागि ५० बेडको छुट्टै वार्ड (भिडियोसहित)

६ भदौ, २०७७, नेपालगञ्ज । कोरोना संक्रमित गम्भीर बिरामीको संख्या बढ्दै जान थाले पछि नेपालगन्जको भेरी अस्पतालले ५० बेडको छुटै कोरोना वार्ड संचालनको तयारी गरेको छ । अस्पताल परिसर भित्रै रहेको नयाँ बन्दै गरेको भवनमा गम्भीर विरामीको उपचार गर्ने गरी छुट्टै वार्ड संचालन गर्न लागिएको हो ।

५० बेडको आइशोलन वार्ड निर्माण भएपछि कोरोना संक्रमितका लागि भेरी अस्पतालमा एक सय बेड उपलब्ध हुनेछ । भेरी अस्पतालले खजुरास्थित क्यान्सर अस्पतालमा ५० वेडको कोरोना लेभल २ अस्पताल संचालन गर्दै आएको छ ।

त्यहि कोरोना लेभल २ अस्पताललाई खजुराबाट सारेर भेरी अस्पताल परिसरमै छुट्टै वार्डको रुपमा संचालन गर्न लागिएको हो । कोरोनाको संक्रमण भएका शंकास्पदलाई अस्पताल कै प्रि–आइशोलेशन वार्डमा राखेर पीसीआर परीक्षण गर्ने र पोजिटिभ आएकालाई कोरोना वार्डमा सारिनेछ ।

पछिल्ला दिनमा भेरी अस्पतालमै शंकास्पद संक्रमितको स्वाब संकलन गरेर पिसिआर परिक्षण गर्न सुरु गरिएको छ । त्यसरी परीक्षण गर्दा दैनिक १ देखि ५ जनासम्म संक्रमित भेटिने गरेका छन । बाँकेमा उपचारमा रहेका संक्रमितमध्ये ३० जना जतिमा लक्षण देखिएको छ ।

अस्पतालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको पनि संख्या बढ्दै गएको छ । नेपालगन्जका अस्पतालमा मात्रै ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । कोरोनाका कारण बढ्दै गएको मृत्यु दर घटाउन गम्भीर विरामीको अक्सिजनसहित सहज उपचारको खाँचो छ ।

कोरोनाका गम्भीर विरामीका लागि अक्सिजन प्लान्ट र प्लाज्मा थेरापीका लागि प्लाजा बैंक स्थापना र अत्याबश्यक औषधिको ब्यबस्था मिलाउनेतर्फ ध्यान दिन आवस्यक रहेको विज्ञले बताएका छन् । भेरी अस्पतालले शुरु गर्न थालेको नयाँ वार्डले संक्रमितको उपचारमा सहज हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *