समाज

वीरगञ्जमा थप दुई र हेटौंडामा एकसहित तीन जनाको कोरोना संक्रमणबाट मृत्यु

हिमालय टिभी
२०७७ भदौ ६ गते १२:४३
वीरगञ्जमा थप दुई र हेटौंडामा एकसहित तीन जनाको कोरोना संक्रमणबाट मृत्यु

६ भदौ, २०७७ काठमाडौं । वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचार गराइरहेका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना अस्पतालमा उपचाररत पर्साको बहुदरमाई नगरपालिका बहुअरीका ६१ बर्षिय हरिशंकर उपाध्यायको बिहान मृत्यु भएको उपचारमा संलग्न डा. निरज सिंहले जानकारी दिनुभयो ।

यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ का एक पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको छ ।

सुगौली विर्ताका ५८ वर्षीय नागेन्द्र ठाकुरको गएराति ज्यान गएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । नारायणी कोभिड १९ अस्पतालमा उपचाररत ठाकुरको गएराति मृत्यु भएको हो ।

भदौ ४ गते उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा हिजो आएको रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

ठाकुरमा खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । मधुमेहका रोगीसमेत रहेका ठाकुरलाई किड्नीको पनि समस्या रहेको चिकित्सकले बताएका छन् ।

त्यसैगरी पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका हेटौँडा उपमहानगरपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भदौ ३ गते उपचारका क्रममा अस्पताल आएर भर्ना भएका ७५ वर्षीय वृद्धको बिहीबार राति मृत्यु भएको थियो ।

उपचारका लागि आएलगत्तै उनको स्वाब सङ्कलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

चितवन मेडिकल कलेजको प्रयोगशाला हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकाले नतीजा सार्वजनिक गरिएको थिएन ।

भरतपुर कोभिड ल्याबमा शुक्रबार राति गरिएको पुनः परीक्षणमा समेत पोजेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।

सोही मेडिकल कलेजमा मृत्यु भएका दुई जनाको नतीजा आउन बाँकी रहेको उहाँले बताउनुभयो । अहिले तीनवटै शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

सो मेडिकल कलेजमा नेपाल र भारतका सीमा क्षेत्रबाट धेरै बिरामी उपचारका लागि आएकाले कोरोना सङ्क्रमण देखिने क्रम बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *