खेलकूद

सेभियाले जित्यो युरोपा कप लीग फुटबलको उपाधि

हिमालय टिभी
२०७७ भदौ ६ गते ८:१६
सेभियाले जित्यो युरोपा कप लीग फुटबलको उपाधि

६ भदौ, २०७७ काठमाडौं । स्पेनिस क्लब सेभियाले युरोपा लीग फुटबलको उपाधि जितेको छ ।

गएराति जर्मनीमा सम्पन्न फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोलले हराउँदै सेभियाले उपाधि जितेको हो । सेभियाको यो कीर्तिमानी छैटौं युरोपा लीगको उपाधि हो ।

सेभियाको जितमा लुक डी जोङले दुई गोल गरे भने एक गोल उसले आत्मघाती गोलको रुपमा पाएको थियो । इन्टरकातर्फबाट रोमेलु लुकाकु र डिएगो गोडीनले एक–एक गोल फर्काए ।

पाँचौ मिनेटमै लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । डिएगो कार्लोसले लुकाकुलाई पेनाल्टी क्षेत्रमा लडाएपछि इन्टरले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसपछि १२ औं र ३३ औं मिनेटमा डी जोङले लगातार दुई गोल गरेपछि सेभियाले खेलमा २–१ को अग्रता बनायो । मिलानका लागि ३५औं मिनेटमा गोडिनले गोल गर्दै खेल दुई–दुई गोलको बराबरी गरे । ७४ औं मिनेटमा लुकाकुले आत्मघाती गोल गरेपछि सेभियाले खेलमा ३–२ गोलको अग्रता लियो ।

डिएगो कार्लोसको प्रहारलाई जोगाउने क्रममा लुकाकुले आफ्नै पोस्टमा गोल गरेका हुन् । त्यसपछि खेलमा थप गोल हुन सकेन । सेभियाले युरोपा लीगमा अहिलेसम्म खेलेका सबै ६ फाइनल जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्