आर्थिक

साउनमा उठायो सरकारले ५८ अर्ब राजश्व (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २ गते २०:५१
साउनमा उठायो सरकारले ५८ अर्ब राजश्व (भिडियोसहित)

२ भदौ, २०७७, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा उत्साहजनक राजस्व संकलन गरेको छ । साउनमा ५४ अर्ब ९९ करोड राजस्व संकलनको लक्ष्य राखिएकोमा ५८ अर्ब रुपैंयाँ उठेको छ । यसबाट कोरोना संक्रमणको दर बढ्दै गएपनि ढुकुटी बढेकाले सरकारलाई केही राहत दिएको छ ।

आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ५४ अर्ब ९९ करोड राजस्व संकलन गर्ने सरकारले लक्ष्य थियो । तर महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनमा ५८ अर्ब रुपैंयाँ राजस्व उठेको छ । कोरोना संक्रमणको दर बढेर केही क्षेत्र अझै बन्द हुँदा समेत सरकारले पहिलो महिना लक्ष्यभन्दा २ अर्ब ५९ करोड रुपैयाँ बढी राजस्व उठाएको छ ।

साउनमा राजस्व संकलनको लक्ष्य
आन्तरिक स् ३५ अर्ब रुपैंयाँ
भन्सार स् १९ अर्ब ९९ करोड रुपैंयाँ
जम्मा स् ५४ अर्ब ९९ करोड रुपैंयाँ

साउनमा संकलित राजस्व
आन्तरिक स् ३४ अर्ब ७४ करोड रुपैंयाँ
भन्सार स् २२ अर्ब ८४ करोड रुपैंयाँ
जम्मा स् ५७ अर्ब ५८ करोड

साउनमा आन्तरिक राजस्व विभागलाई ३५ अर्ब को लक्ष्य दिइएकोमा ३४ अर्ब ७४ करोड रुपैयाँ संकलन गरेको छ । साउनमा आयकर १० अर्ब ४ करोड उठाउने लक्ष्य राखिएकोमा ११ अर्ब ४ करोड उठेको छ । यस्तै ५ अर्ब ४१ करोड अन्तःशुल्क र १२ अर्ब ४१ करोड भ्याट संकलन भएको महालेखाले जनाएको छ ।

साउनमा ५ अर्ब ८४ करोड अन्तःशुल्क र १२ अर्ब ४१ करोड भ्याट उठाउने लक्ष्य थियो । भुक्तानीमा प्यान नम्बरको अनिवार्य गरिएसँगै विभागले संकलन गर्ने राजस्व बढेको हो । राजस्व उठाउने अर्को निकाय भन्सार विभागले पनि लक्ष्यभन्दा बढी संकलन गरेको छ ।

सरकारले १९ अर्ब ९९ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिदिएकोमा विभागले २२ अर्ब ८४ करोड राजस्व उठाएको छ । यो लक्ष्यभन्दा २ अर्ब ८५ करोड बढी हो । असार १ गतेदेखि लकडाउन खुकुलो पारिएपछि आयात बढ्दै गएपछि लक्ष्यभन्दा बढि राजस्व संकलन गर्न विभागलाई सहज भएको हो ।

पछिल्ला वर्ष मासिक लक्ष्यको तुलनामा कम मात्र राजस्व संकलन हुने गरेकोमा साउनमा भने लक्ष्यभन्दा बढि राजस्व उठेको छ । गत वर्षको साउनमा ८५ अर्ब ८ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा ७२ अर्ब ६० करोड रुपैयाँ मात्रै संकलन भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७५–७६ मा समेत लक्ष्य अनुरुप राजस्व उठ्न सकेन् । आर्थिक वर्ष २०७५–७६ मा ६३ अर्ब ६४ करोड संकलन गर्ने लक्ष्य लिइएकोमा ६२ अर्ब ९७ करोड रुपैयाँ मात्र उठ्यो । कोरोना महामारीमाझ चालु आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट आएको छ। यसका लागि सरकारले यो आर्थिक वर्ष ८ खर्ब ८९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

कोरोनाका कारण लामो दुरीका सडक तथा हवाई यातायात अझै बन्द छन् भने पर्यटन, शैक्षिक संस्था लगायतका संस्था समेत चल्न सकेका छैनन । त्यसैले सरकारले साउनमा निकै कम मात्र राजस्व संकलनको लक्ष्य राखेको थियो । तर साउनमा ‍लक्ष्यभन्दा बढी राजस्व उठेको छ । यसले कोरोना संक्रमणको दर बढ्दै गएपनि अर्थतन्त्रले विस्तारै पुरानै लय समात्न सुरु गरेको देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *