अर्थतन्त्रमा कोरोनाको नकारात्मक असर, पन्ध्रौं योजना परिमार्जनको तयारी

२ भदौं, २०७७ काठमाडौं । कोरोना संक्रमणका कारण अर्थतन्त्रमा नकारात्मक असर परेकाले राष्ट्रिय योजना आयोगले पन्ध्रौं योजनामा परिमार्जनको तयारी गरेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि लामो समय बन्दाबन्दीको अवस्था रहेपछि पन्ध्रौं योजनाले आत्मसाथ गरेका लक्ष्यहरु पुरा हुन नसकेकाले परिमार्जन गर्नुपर्ने स्थिति देखिएको आयोगले बताएको छ ।
आयोगका उपाध्यक्ष डा। पुष्पराज कँडेलले कोरोनाका कारण अर्थतन्त्रमा गम्भिर असर परेको र आर्थिक वृद्धि लक्ष्य अनुसार हासिल नहुने देखिएकाले पन्ध्रौं पञ्चवर्षीय योजनाका लक्ष्यहरुमा परिमार्जनको तयारी भएको जानकारी दिनुभयो ।
उपाध्यक्ष कँडेलले पन्ध्रौं योजनाले पहिलो वर्ष साढे आठ प्रतिशत, दोस्रो वर्ष साढे नौ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको तर कोरोनाका कारण हासिल नभएकाले परिमार्जन गरी अगाडि बढ्नुपर्ने स्थिति आएको बताउनुभएको हो ।
अहिलेको अर्ध लकडाउनको स्थितिबाट अर्थतन्त्रमा पर्ने असरको अवस्थालाई हेरेर योजनाका लक्ष्यहरुमा परिमार्जन गर्ने अवस्था आउनसक्ने कँडेलले बताउनुभयो ।
असार सम्मको लकडाउन पछि कोरोनाको प्रभाव न्यूनीकरण तिर गएको अवस्थालाई हेरेर योजना बनाएको तर फेरी संक्रमण बढ्दै जाँदा कार्यान्वयनमा असर परेको उहाँले बताउनुभयो ।
संक्रमणको अवस्थालाई छिट्टै नियन्त्रण गरी नयाँ कार्ययोजना बनाएर अगाडि बढनुपर्ने आवस्यकता रहेको पनि उपाध्यक्ष कँडेलले बताउनुभयो ।
प्रतिक्रिया