आर्थिक

बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि राष्ट्र बैंकद्वारा आवेदन माग

हिमालय टिभी
२०७७ भदौ १ गते १३:०९
बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि राष्ट्र बैंकद्वारा आवेदन माग

१ भदौ, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिने भनिएको पुनर्कर्जाका लागि आवेदन प्रस्ताव मागेको छ ।

राष्ट्र बैंकले सूचना निकालेर एकमुस्ट रूपमा प्रदान हुने पुनर्कर्जाका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीसँग प्रस्ताव मागेको हो ।

राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम, साधारण र विशेष गरी तीन प्रकारका पुनर्कर्जाका लागि प्रस्ताव मागेको हो । लघु, घरेलु तथा साना उद्यमलाई प्रति ग्राहक १५ लाखसम्म र बैंक तथा वित्तीय संस्थाहरुलाई दिइने विशेष र साधारण पुनर्कर्जा ५ करोड रुपैयाँसम्मको हुनेछ ।

पुनर्कर्जाको ब्याज दर ३ देखि ५ प्रतिशतसम्म हुनेछ । यसरी प्राप्त हुने पुनर्कर्जाबाट बैंक तथा वित्तीय संस्थाले कोभिड(नाइन्टिनबाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरुमा थप कर्जा प्रवाह गर्नुपर्नेछ ।

राष्ट्र बैंकले पर्यटन, हवाइ तथा पर्यटकीय यातायात, मनोरञ्जन, पार्टी प्यालेस, सिनेमा क्षेत्र, रोजगारी गुमेका वा बिदामा बसेका श्रमिक, मेनपावर कम्पनीलाई अति प्रभावित मानेको छ ।

यस्तै कुखुरापालन, पशुपक्षी, मौरी तथा माछापालन, तयारी पोशाक, हस्तकला र सडेर गलेर जाने वस्तुसम्बन्धी व्यवसायलाई समेत अति प्रभावितको सूचीमा राखेको छ । मध्यम प्रभावितमा खप्ने सामान उत्पादन तथा वितरण गर्ने उद्योग, विद्यालय तथा कलेज, यात्रुवाहक स्थल यातायात, ब्युटी पार्लर, अस्पताल, फिटनेस सेन्टर परेका छन् ।

वन तथा खानीजन्य उद्योग, औषधी उत्पादन, निर्माण व्यवसाय, सञ्चार उद्योग, नविकरणीय उर्जा, माटो तथा सिसाका व्यवसाय र भण्डारणसम्बन्धि उद्योग पनि यसै वर्गिकरणमा छन् । प्रस्ताव पेश गर्ने म्याद असोज १४ गतेसम्म छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *