समाज

भन्सारमा मल थन्कियो, किसानका हात रित्तै (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १ गते ६:४१
भन्सारमा मल थन्कियो, किसानका हात रित्तै (भिडियोसहित)

१ भदौ, २०७७, झापा । धान रोप्ने बेलामा मल अभावको समस्या भोगेका किसानलाई अहिले धान गोड्ने बेलामा फेरि समस्या भएको छ ।

भारतीय सीमावर्तीका जिल्लामाका किसानले लुकीछिपी भारतबाट मल ल्याएर गर्जो टार्ने गरेका थिए । तर अहिले कोरोना संक्रमणको जोखिमका कारण सीमा नाका बन्द हुँदा झापाका किसानलाई समस्या थपिएको छ ।

झापामा रोप्ने बेला मलको समस्या भोगेका किसान फेरि गोड्ने बेलामा छटपटाइरहेका छन् । एकातिर किसान छटपटाइरहेका छन अर्कोतिर भद्रपुर भन्सार कार्यालयमा मल थन्किएको छ ।

यो विभिन्न समयमा अवैध रुपमा भन्सार छली गरेर ल्याउँदै गर्दा बरामद गरिएको मल हो । सीमावर्ती जिल्लाका किसानले अवैध रुपमै भारतबाट मल ल्याएर गर्जो टार्ने गरेका थिए ।

यो पनि अवैध रुपमा त्यसरी नै ल्याइएको मल हो । प्रहरीले मल बरामद गरेर भन्सारमा त बुझायो, तर मलको लिलामी गर्ने र आवश्यक पर्नेले लैजाने सुरसार छैन ।

र, यो सबै सरकारको काम गर्ने शैलीका कारण भैरहेको छ । किसान मल नपाएर पुर्पुरोमा हात लगाएर बस्दा सरकारलाई प्रक्रिया मिलाउँदा मिलाउँदै ठीक्कै छ ।

भद्रपुर भन्सारको यो मल लिलामी प्रक्रियामा जाँदा ढिलो भैसकेको हुनेछ । किसानलाई त्यतिबेला चाहिने छैन ।

यो झापाको भद्रपुर भन्सारमा थन्किएको तीन सय बोरा मलको कुरा मात्रै होईन, यो नागरिकका समस्या किन समाधान हुन्नन भन्ने सरकारको कार्यशैलीको एउटा उदाहरण मात्रै हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *