नेपालमा यो वर्ष हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा रोपाईँ
२९ साउन, २०७७ काठमाडौं । यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
गत वर्षको तुलनामा ३ दशमलव २४ प्रतिशत अर्थात् ५१ हजार ७ सय ३८ हेक्टर बढीमा धान रोपाइँ भइसकेको कृषि मन्त्रालयले जनाएको छ ।
समयमै पानी परेका कारण मौसमको अनुकूलता र कोरोना भाइरसले मानिस ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रोपाइँमा सकारात्मक प्रभाव परेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले बताउनुभयो ।
मन्त्रालयका अनुुसार नेपालको मुख्य खाद्यान्न बाली धान खेतीको कुल क्षेत्रफल १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफल रहेको छ । त्यसमध्ये यो वर्ष १३ लाख ४६ हजार ९२० हेक्टर क्षेत्रफलमा धान लगाइएको छ ।
बन्दाबन्दी भएका कारणले सहर बजारबाट धेरै मानिस गाउँघर पुुगेको र खेतीमा ध्यान दिएका कारण बढी क्षेत्रफलमा धान रोपाइँ सम्भव भएको प्रवक्ता केसीको भनाइ छ । अझै रोपाइँ जारी रहेको र यो वर्ष ९९ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुनसक्ने मन्त्रालयको आँकलन छ ।
मौसम र समयले साथ दिए यसपटक ६० देखि ६५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।
गत आर्थिक वर्षमा अहिलेसम्मकै बढी ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । देशमा ६६ लाख मेट्रिक टन धान उत्पादन भए देश धानमा आत्मनिर्भर हुने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया