चीनमा कोरोनाविरुद्धको खोप मानिसमा प्रयोग शुरु
२७ साउन, २०७७ बेइजिङ । चीनको सिनोभ्याक बायोटेकले कोरोना भाइरसविरुद्धको खोप मानिसमा प्रयोग शुरु गरेको छ ।
सिनोभ्याकले इण्डोनेसियाको सरकारी स्वामित्वमा रहेको बायो फर्मासँग सहकार्य गर्दै कोरोनाभ्याक नामक खोप विकास गरेको हो । परीक्षणको तेस्रो चरणमा पुगेको यो खोप इन्डोनेसियामा १६ सय २० जनामा परीक्षण गरिएको छ । यस्तै ब्राजिलमा नौ हजार जनामा परीक्षणका क्रममा छ ।
अहिलेसम्मको परीक्षणले कुनै प्रकारको नकारात्मक असर नदेखिएको उत्पादकको दाबी छ । यसले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाएको सिनोभ्याकले बताएको छ । सिनोभ्याकद्वारा खोज गरिएको खोपको पूर्ण नतिजा आउन अझै ६ महिना लाग्नेछ ।
अहिले चीनमा कोरोना भाइरसको संक्रमण न्युन रहेका कारण विदेशमा यसको परीक्षण गर्नु परेको हो । इण्डोनेसियापछि यो बंगलादेशमा परीक्षण गरिनेछ ।
प्रतिक्रिया