खेलकूद

बन्द प्रशिक्षणमा रहने फूटबल खेलाडी र कर्मचारीको कोरोना परीक्षण आज

हिमालय टिभी
२०७७ साउन २६ गते ७:५५
बन्द प्रशिक्षणमा रहने फूटबल खेलाडी र कर्मचारीको कोरोना परीक्षण आज

२६ साउन, २०७७ काठमाडौं । फिफा विश्वकप छनोट प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहने राष्ट्रिय फूटबल टोलीका खेलाडी तथा कर्मचारीको कोरोना परीक्षण आजदेखि हुने भएको छ ।

विश्वकप छनोटको तयारी अघि अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षणमा बोलाएका खेलाडी र कर्मचारीको कोरोना परीक्षण गर्ने भएको हो ।

एन्फाले विश्वकप २ हजार २२ र एसियन कप २ हजार २३ को दोस्रो चरणको तयारीका लागि शुरु गर्न लागिएको बन्द प्रशिक्षणमा सामेल हुने खेलाडी र कर्मचारीमा परीक्षण गर्नेछ ।

खेलाडीसँगै कोचिङ स्टाफ, टिम अफिसियल, होस्टेल स्टाफको पाटन अस्पतालमा परीक्षण गर्न लागिएको एन्फाले जनाएको छ । बन्द प्रशिक्षणका लागि ३४ खेलाडीलाई बोलाइएकोमा परीक्षणको रिपोर्ट आएपछि मात्र खेलाडीलाई होस्टेलमा राखिनेछ ।

टोलीका मुख्य प्रशिक्षक योहान कालिन हाल नेपालमा नरहेको कारण तत्कालका लागि सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षणको जिम्मेवारी पाएका छन् । एन्फाले गत साता मात्र राष्ट्रिय टोलीका पूर्व गोलरक्षक विकास मल्ललाई गोलकिपिङ प्रशिक्षकमा नियुक्त गरेको थियो ।

आगामी भदौ १ देखी शुरु हुने बन्द प्रशिक्षणका लागि एन्फाले १७ बुँदे प्रोटोकल तयार पारिसकेको छ । जसअनुसार एन्फाले होस्टेल र कार्यालय डिसइन्फेक्सन गरिसकेको छ ।

त्यस्तै, प्रशिक्षणमा १० देखि १२ जनासम्मको समूह बनाई प्रशिक्षण दिइनेछ । विश्वकप छनोट अन्तर्गत नेपालले दशरथ रंगशालामा चाइनिज ताइपेइसँग अक्टोबर ८ मा, अष्ट्रेलियासँग अक्टोबर १३ मा र नोभेम्बर १३ मा जोर्डनसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्