समाज

कोरोना संक्रमणको जोखिम बढेपछि भोजपुर प्रवेशमा कडाइ (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २५ गते १४:४४
कोरोना संक्रमणको जोखिम बढेपछि भोजपुर प्रवेशमा कडाइ (भिडियोसहित)

२५ साउन, २०७७ भोजपुर । छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण बढ्दै गएपछि भोजपुर प्रवेशमा कडाइ गरिएको छ । पछिल्लो समय प्रशासनमा पास नलिई जिल्ला भित्रिनेको संख्या बढेसँगै कोरोना संक्रमणको सम्भावना रहेकाले प्रवेशमा कडाइ गरिएको हो ।

प्रदेश १ को सुनसरी, झापा, मोरङ, उदयपुरलगाएतका जिल्लामा समुदायस्तरमै कोरोना भाइरसको संक्रमण फैलिएपछि भोजपुरमा सवारी पास तथा जिल्ला प्रवेशमा कडाइ गरिएको छ ।

एकातिर संक्रमण फैलिरहेका बेला स्थनीय निकायहरुले भने कोरोनाको वास्ता नै नगरी बाहिरी जिल्ला तथा कोरोना संक्रमित जिल्लाहरुमा रहेका आफ्ना शिक्षक कर्मचारीहरुलाई विद्यालय सञ्चालनका लागि बोलाइरहँदा प्रशासनले भने पीसीआर रिपोर्टबिना जिल्ला प्रवेश गर्न नदिने निर्णय गरेको हो ।

छिमेकी जिल्ला तथा वाह्य मुलुकबाट जिल्ला प्रवेश गर्नेहरुको संख्या बढ्नु र छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण बढ्दै जाँदा स्थानीयसमेत त्रसित भएका छन् ।

भोजपुरमा गत वैशाख ११ गते हतुवागढी गाउँपालिकामा एक जना र षडानन्द नगरपालिकामा जेठ २३ गते ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने संक्रमित सबै निको भएर घर फर्किसकेका छन् । अन्य जिल्ला र वाह्य मुलुकबाट जिल्ला प्रवेश गर्न आएका ७२ जना होल्डिङ एरियामा रहेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *