जबरजस्ती उद्योग सञ्चालन गर्दा विराटनगरको आरती स्ट्रिप्समा थप १२ जनामा कोरोना पुष्टि
२५ साउन, २०७७, विराटनगर । मजदुरमा कोरोना संक्रमण पुष्टि भइसक्दा पनि जबरजस्ती उद्योग सञ्चालन गर्दा मोरङको बुढीगंगा गाउँपालिकाको आरती स्ट्रिप्स् इण्डस्ट्रिजमा थप थप १२ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको ल्याबमा गरिएको प्रशिक्षणमा आज उद्योगका थप १२ कर्मचारी र मजदुरमा कोरोना संक्रमण देखिएको हो । उद्योगमा यसअघि नै ६ जना कर्मचारीमा कारोना संक्रमण पुष्टि भएको थियो ।
समूहमा काम गर्नेहरुमा कोरोना देखिएपछि संक्रमितको सम्पर्कमा रहेकाहरुलाई क्वारेन्टाइनमा राख्नुपर्नेमा उद्योग बन्द नगरी काममा लगाएका कारण थप संक्रमण देखिएको हो ।
आरती स्ट्रिप्सका जनसम्पर्क अधिकृत दिवश नेपालका अनुसार पछिल्लो पटक उद्योगका ८० जनाको स्वाब संकलन गरिएको थियो । उद्योगमा कार्यरत २ जना कर्मचारीमा सुरूमा कोरोना देखिएको थियो । त्यसपछि नै उद्योग बन्द गर्न बुढिगंगा गाउँपालिकाले पत्राचार गरेपनि व्यवस्थापन पक्षले जबरजस्ती गर्दा कोरोना फैलिएको हो ।
अघिल्लो पटक लकडाउन हुँदा आरतीका उद्योगका अधिकांश मजदुर भारत फर्केकोमा लकडाउनका कारण लुकिछिपी मजदुरलाई ल्याएर उद्योग चलाएको हो ।
उद्योगमा काम गर्ने मजदुरमा कोरोना हुँदा पनि अन्य मजदुर क्वारेन्टाइनमा नबसेको कारण आसपासको बस्तीमा पनि कोरोनाको त्रास फैलिएको छ ।
प्रतिक्रिया