खेलकूद

च्याम्पियन्स लीगको क्वाटरफाइनलमा बार्सिलोना र बायर्न म्युनिख भिड्ने

हिमालय टिभी
२०७७ साउन २५ गते ८:४४
च्याम्पियन्स लीगको क्वाटरफाइनलमा बार्सिलोना र बायर्न म्युनिख भिड्ने

२५ साउन, २०७७ काठमाडौं । च्याम्पियन्स लीग फुटबलको क्वाटरफाइनलमा स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख भिड्ने भएका छन् ।

गएराति अन्तिम १६ को दोस्रो लेगमा आआफ्ना खेल जित्दै बार्सिलोना र बायर्नले क्वाटरफाइनल भिडन्त पक्का पारेका हुन् । बार्सिलोनाले नापोलीमाथि ३–१ गोलको जित निकाल्दै समग्रमा ४–१ को नतिजासहित अन्तिम ८ मा स्थान पक्का पारेको हो ।

घरेलु मैदान नाउ क्याम्पमा बार्सिलोनाको जितमा क्लेमेन्ट लेन्गलेट, लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे । बार्सिलोनाले खेल शुरु भएको १० मिनेटमै लेन्गलेटको गोलसँगै अग्रता बनाएको थियो ।

त्यसपछि मेस्सीले २३ औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर बनाए । मेस्सीले १ सय ४२ च्याम्पियन्स लीग खेलमा १ सय १५ गोल पूरा गरेका छन् ।

पहिलो हाफको इन्जुरी समयमा स्वारेजले पेनाल्टीमार्फत गोल थप्दै बार्सिलोनालाई ३–० को अवस्थामा पुर्‍याए । पहिलो हाफ सकिन अन्तिम मिनेटमा नापोलीका लोरेन्जो इन्साईनले पेनाल्टीमा गोल गरेपछि खेल ३–१ को अवस्थामा पुग्यो ।

त्यसपछिको खेलमा दुबै टोलीले कुनै गोल गर्न सकेनन् । यसअघि नापोलीको घरेलु मैदानमा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।

त्यस्तै अन्तिम १६ को दोस्रो लेगमा इंग्लिस क्लब चेल्सीलाई ४–१ गोलले हराउँदै समग्रमा ७–१ को नतिजासहित बायर्न म्युनिख क्वाटरफाइनलमा पुगेको छ ।

रोबर्ट लेवान्डोस्कीले १० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । त्यसपछि बायर्नका लागि २४ औं मिनेटमा इभान पेरिसिक, ७६ औं मिनेटमा कोरेन्टिन तोलिसो र ८३ औं मिनेटटमा लेवान्डोस्कीले गोल गरे ।

चेल्सीका लागि ४४ औं मिनेटमा ट्यामी अब्राहमले एक गोल फर्काएका थिए । पहिलो लेगमा बायर्न ३० गोलले विजयी भएको थियो । यी दुई बीचको क्वाटरफाइनल आगामी शुक्रबार हुनेछ ।

यस्तै क्वाटरफाइनल अन्तर्गत सेमिफाइनल प्रवेशका लागि अन्य खेलमा पेरिस सेन्ट जर्मेन र एटलान्टा, लाइपजिक र एट्लेटिको मड्रिड तथा म्यानचेस्टर सिटी र लियोन भिड्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्