विदेश

भारतको केरलामा भएको विमान दुर्घटनामा दुई पाइलटसहित १७ जनाको मृत्यु

हिमालय टिभी
२०७७ साउन २४ गते ७:५४
भारतको केरलामा भएको विमान दुर्घटनामा दुई पाइलटसहित १७ जनाको मृत्यु

२४ साउन, २०७७ केरला । भारतको केरलामा विमान दुर्घटना हुँदा २ पाइलटसहित १७ जनाको मृत्यु भएको छ ।

दुबईबाट आएको एअर इण्डिया एक्सप्रेस विमान दक्षिण भारतको केरलास्थित कोझिकोड विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो।

अवतरणको क्रममा शुक्रबार राति स्थानीय समय अनुसार ७ बजेर ४१ मिनेटमा विमान रनवेबाट चिप्लिएर खाल्डोमा खसेर दुई टुक्रा भएको थियो । लगातारको वर्षाका कारण यसअघि विमानले दुई पटक अवतरणको असफल प्रयास गरेको थियो । तर तेस्रो पटकको प्रयासमा विमान दुर्घटनामा पर्‍यो ।

विमानमा आगलागी नभएका कारण थप मानवीय क्षति नपुगेको बताइएको छ । विमानमा चालक दलका सदस्यसहित १ सय ९० जना सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै दुई जना पाइटलको मृत्यु भएपनि चालक दलका अरु चार सदस्य भने जीवित रहन सफल भएका छन् । घाइते १ सय ६० यात्रु मध्ये २५ जनाको अवस्था गम्भीर रहेको भारतको नागरिक उड्डयन मन्त्रालयले उल्लेख गरेको छ ।

भिसाको म्याद सकिएका, जागिर गुमेका तथा घुम्न गएका उनीहरु कोरोना भाइरसको महामारीका कारण उतै रोकिएका थिए । दुर्घटनाको छानबिनका लागि दुईवटा समिति बनाइएको उड्डयन मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *