समाज

कपिलवस्तुमा समुदायस्तरमै कोरोना, २९२ जनाको परीक्षण गर्दा ४१ मा संक्रमण

हिमालय टिभी
२०७७ साउन २२ गते १७:३७
कपिलवस्तुमा समुदायस्तरमै कोरोना, २९२ जनाको परीक्षण गर्दा ४१ मा संक्रमण

२२ साउन, २०७७, कपिलवस्तु । कपिलवस्तुमा पनि कोरोना संक्रमण समुदायस्तरमै फैलिएको पाइएको छ । समुदायबाट संकलन गरिएका स्वाबको परीक्षणमा संक्रमण पाइएको हो ।

साउन १८ गते जिल्लाका विभिन्न क्षेत्रबाट संकलन गरिएकामध्ये २ सय ९२ जनाको रिपोर्ट आउँदा ४१ जनामा संक्रमण पुष्टि भएको छ । त्यतिबेला ३ सय २० जना व्यक्तिको नमूना संकलन गरिएकोमा अन्यको रिपोर्ट आउन बाँकी छ ।
कपिलवस्तुमा आज २१ जना संक्रमित थपिएका छन् । जिल्लामा संक्रमितको संख्या ८ सय ४० पुगेको छ । पछिल्लो समय गरिएको नमूना संकलनको नतिजाले जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नमूना परीक्षणको नतिजाले सबै भन्दा बढी कोरोना संक्रमणबाट प्रभावित हुनेमा बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, सरकारी सेवा प्रदायक, स्वास्थ्यकर्मी र समुदायस्तरमा रहेका व्यवसायी देखिएका छन् ।

जिल्लाभरका ८ बैङ्क तथा वित्तीय संस्थाका १६ कर्मचारीमा संक्रमण पुष्टि भएको छ । संक्रमित भेटिएका बैङ्क तथा वित्तीय संस्था बन्द गरिएको छ ।

तौलिहवास्थित ग्लोबल आईएमई बैङ्कका ३ जना, मेगा बैङ्कका २ जना, कृषि विकास बैङ्कका १ जना, लक्ष्मी बैङ्कका १ जना, गुहेश्वरी मर्चेन्ट बैङ्किग एड फाईनान्सका ४ जना, तिनाउ मिसन डेभलप्मेन्ट बैङ्क लिमिटेडका २ जना र कृष्णनगर स्थित नेपाल बैङ्क लिमिटेडका २ र एभरेष्ट बैङ्कका १ जना कर्मचारी संक्रमित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *