खेलकूद

ब्याडमिन्टनसँगै शुरु भयो टेबल टेनिसको प्रशिक्षण

हिमालय टिभी
२०७७ साउन २१ गते १८:२३
ब्याडमिन्टनसँगै शुरु भयो टेबल टेनिसको प्रशिक्षण

२१ साउन, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणको त्रासकै बिचमा खेलकुद गतिविधि संचालन हुन थालेको छ । यसअघि ब्याडमिन्टनको प्रशिक्षण शुरु भएकोमा आजदेखि टेबल टेनिसको प्रशिक्षण शुरु भएको छ ।

कोरोना संक्रमण हटेको छैन । तर पनि साढे ४ महिनादेखि घरमै बसेका खेलाडीहरु अभ्यासमा फर्किन थालेका छन् । घरमै बसेर सामान्य व्यायाम मात्र गर्दै आएका टेबल टेनिस खेलाडीले बुधबार लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा पुगेर अभ्यास गरेका छन् ।

लकडाउनपछि पहिलो पल्ट भएको अभ्यासमा थोरै मात्र खेलाडी सहभागी थिए । चैत ११ गतेपछि रोकिएको टेबल टेनिस प्रशिक्षण सुरु हुँदा खेलाडीहरु खुसी छन् । कोरोना भाइरसबाट बच्नका लागि सावधानी अपनाएर प्रशिक्षण सुरु भएको हो ।

कोरोनाका कारण सबैभन्दा प्रभावित क्षेत्रमध्ये खेलकुद पनि एक हो । अहिले एकाधबाहेक अन्य खेलकुदका गतिविधि ठप्प नै छन् । तर पनि अखिल नेपाल टेबल टेनिस संघले खेलाडीलाई समूह समूहमा विभाजन गरी अभ्यास थालेको हो ।

प्रशिक्षणका लागि खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । तर त्यो प्रयाप्त छैन । त्यसैले अहिले केही सीमित खेलाडीका लागि अभ्यास सुरु गरिएको हो ।

ओलम्पिकको तयारीमा रहेको करातेसँगै ब्याडमिन्टनको प्रशिक्षण यसअघि नै सुरु भएको थियो । यस्तै विश्वकप छनोट नजिक आइरहेकोले अखिल नेपाल फुटबल संघ एन्फाले पनि खेलाडी छनोट गरेर काठमाडौं बोलाएको छ ।

उनीहरुको पीसीआर परीक्षण गरेर एन्फा होस्टलमा क्वारेन्टिमा राखिनेछ । भदौ १ गतेबाट फुटबलको प्रशिक्षण सुरु हुनेछ । केही क्रिकेट खेलाडीले पनि आफू अनुकुलको स्थानमा ब्यक्तिगत रुपमै प्रशिक्षण गर्दै आएका छन् ।

तर, अन्य खेलकुदका विधाहरु भने बन्द नै छन् । अरु खेलले भदौ कुरिरहेका छन् । तर, काठमाडौंमै कोरोनाको संक्रमण बढ्दै गरेका कारण खेलाडीको अभ्यास के हुने हो ? अन्योल छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्