२१ साउन, २०७७ झापा । कन्काई नदीको बहाव २७ वर्षपछि गाउँतिर सोझिएपछि झापाका विभिन्न ठाउँ डुवानमा परेका छन् ।
पानीको वहाव गाउँ सोझिएपछि झापाका शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाका गरी सात गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन्।
बाढी आउँदा डुबाउला भन्ने चिन्ता, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरूलाई सताउने गरेको हो ।
नदीजन्य पदार्थको अत्यधिक दोहनका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको कन्काई नदीकै छेउमा घर र खेती भएका शिवसताक्षी नगरपालिका–७ का तेजबहादुर कुँवरले बताउनुभयो ।
नदी पूरै गाउँतिर सोझिए पछि ढुक्कले निदाउन नपाएको उहाँको भनाइ छ । इलामबाट आउने कन्काई नदी झापाको मध्यभागबाट बग्छ । त्यहाँ हरेक बर्खामा नदीले ठूलो मात्रामा जनधन क्षति गर्ने गरेको छ ।