राजनीति

प्रचण्ड–नेपाल समूह देश र जनताप्रति जिम्मेवार नरहेको ओलीको आरोप (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २० गते १९:५४
प्रचण्ड–नेपाल समूह देश र जनताप्रति जिम्मेवार नरहेको ओलीको आरोप (भिडियोसहित)

२० साउन, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह देश र जनताप्रति जिम्मेवार नभएको गम्भीर आरोप लगाउनुभएको छ ।

पार्टी भित्रको विवाद चर्किँदै जाँदा ओलीले प्रचण्ड नेपाल समूहमाथि सार्वजनिक रुपमै गम्भीर आरोप लगाउनुभएको हो । देश कोरोना संकटसँग जुधिरहेका बेला आफ्नै पार्टीका नेता त्यो संकटलाई वेवास्ता गरेर स्वार्थमा केन्द्रीत रहेको ओलीको आरोप छ । यसबारे प्रचण्ड नेपाल समूहको प्रतिक्रिया त आएको छैन, तर ओलीको पछिल्लो अभिव्यक्तिले नेकपा भित्रको विवाद झन चर्किने प्रष्ट संकेत गरेको छ ।

नयाँ नक्सा छापेकै कारण भारतले हटाउन खोजेको र त्यसमा नेकपाकै नेताहरुको पनि साथ रहेको आशय सहित असार १४ गते प्रधानमन्त्री ओलीले भाषण गरेपछि असार १६ नेकपाको स्थायी कमिटीमा भाँडभैलो भयो ।

कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ, नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताले ओलीको आलोचना गर्दै आरोप प्रमाणित गर्न चुनौती दिनुभयो । र, गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै राजिनामा माग्नुभयो ।

त्यसपछि नेकपामा भैरहेको विवाद जगजाहेरै छ । आरोपकै कारण चर्केको विवाद सेलाउन नपाउँदै ओलीले मंगलवार बालुवाटारबाटै प्रचण्ड र नेपाल समूहमाथि अर्को गम्भीर आरोप लगाउनुभयो, कोरोनासँग जोडेर ।

आफ्नो पार्टीका नेताहरुले गैरजिम्मेवार भएर कोरोनाबाट बच्न सरकारले जारी गरेको निर्देशन उल्लंघन गरेकोमा मात्रै प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गर्नुभएन, उनीहरुले किन त्यसो गरे भनेर पनि विज्ञ र राजनीतिक दलका शीर्ष नेतासहितको छलफलमा बेलिविस्तार लगाउनुभयो ।

प्रधानमन्त्री ओलीका अनुसार कोरोनाको यो महामारीका बेला बैठकको माग गर्ने पूर्व प्रधानमन्त्री प्रचण्ड र नेपालको समूह देश र जनताप्रति जिम्मेवार होईन स्वार्थमा केन्द्रीत छ ।

नेकपा भित्र विवाद बढ्दै जाँदा ओलीले प्रचण्ड नेपाल समूह विरुद्ध अर्को फायर खोल्नुभएको छ र, यसबाट उहाँले यसबाट केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक अब नबस्ने प्रष्ट सन्देश दिनुभएको छ । ओलीको यो हमलाको प्रतिवाद प्रचण्ड–नेपाल समूहले कसरी गर्छ, त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्