इरानले कोरोनाबाट मर्नेको संख्या लुकाएको खुलासा
१९ साउन, २०७७, इरान । इरानले कोरोना भाइरसका कारण मृत्यु भएकाको संख्या लुकाएको पत्ता लागेको छ ।
इरानी सरकारले घोषणा गरेकोभन्दा झण्डै तेब्बरको मृत्यु भएको बीबीसीको एक अनुसन्धानले दाबी गरेको छ ।
इरानी सरकारका अनुसार कोरोना भाइरसका कारण जुलाई २० सम्म १४ हजार चार सयको मृत्यु भएको डेटा बाहिर निकालेको थियो । तर, बीबीसीको अनुसन्धानले उक्त मितिसम्म ४२ हजारको हारहारीमा मृत्यु भएको गोप्य सरकारी सुचना भेटाएको जनाएको छ ।
यस्तै इरानले संक्रमितको संख्या पनि लुकाएको बीबीसीको अनुशन्धानले दाबी गरेको छ । जुलाईको तेस्रो सातासम्म इरानले दुई लाख ७८ हजार संक्रमित भएको भनेपनि साढे चार लाखभन्दा बढी संक्रमित भएको सो अनुसन्धानबाट खुलेको छ ।
कोरोना संक्रमणको सुरुमा चीनपछि सबैभन्दा बढी प्रभावित राष्ट्र इरान थियो । पछिल्ला सातामा इरानमा संक्रमण तीब्र बन्दै गएको छ । इरानमा कोरोनाका कारण जनवरी २२ मा पहिलो ब्यक्तिको मृत्यु भएको थियो ।
इरानमा अहिलेसम्म तीन लाख नौ हजार संक्रमित छन् भने १७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया