आइपीएलको १३औं संस्करण आगामी सेप्टेम्बरमा युएईमा हुने

१९ साउन, २०७७ काठमाडौं । १३ औं संस्करणको इन्डियन प्रिमियर लीग (आइपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेट युएईमा हुने भएको छ ।
आइपिएल क्रिकेट आगामी सेप्टेम्बर १९ देखि युएईमा हुने पक्का भएको प्रतियोगिता आयोजकले जनाएका हुन् । नोभेम्बर १० तारिखमा हुने फाइनलसहित प्रतियोगितामा ५३ खेल हुनेछन् ।
आइपीएलका खेल दुबई, शारजाह र आबु धाबीमा हुनेछन् । आइपीएलको गभर्निङ बडीले आइतबार भारत सरकारबाट खेल आयोजनाका लागि अनुमति पाएको हो । कोरोना भाइरसको संक्रमणका कारण भारतीय क्रिकेट नियन्त्रण बोर्डले युएईमा प्रतियोगिता गराउने निर्णय गरेको थियो ।
बीसीसीआईले यूएईमा सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म खेल सञ्चालनको योजना बनाएपनि अन्तिममा सरकारको स्वीकृति कुरिरहेको थियो । खेलमा दर्शकको उपस्थितीका बारेमा भने अर्को बैठकमा निर्णय हुने भएको छ ।
यता यूएई क्रिकेट बोर्डले ३५ प्रतिशत दर्शक राख्न सरकारसँग प्रस्ताव गर्ने बताएको छ।
यस अघि गएको मार्च २९ देखिका लागि तय आइपिएल कोरोनाको कारण स्थगित गरिएको थियो ।
त्यस्तै यस वर्ष हुने एसिया कप र ट्वेन्टी(ट्वेन्टी विश्वकप स्थगित भएसँगै आइपिएल आयोजनाको बाटो खुलेको थियो । आइपीएल युएईमा दोस्रो पटक आयोजना हुन लागेको हो । यसअघि सन् २ हजार १४ मा समेत पहिलो चरणका खेल युएईमा भएको थियो ।
प्रतिक्रिया