खेलकूद

कोरोनाकाबीच विश्वकप फूटबल छनोटको लागि सबै खेलाडी काठमाडौंमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १८ गते २०:००
कोरोनाकाबीच विश्वकप फूटबल छनोटको लागि सबै खेलाडी काठमाडौंमा (भिडियोसहित)

१८ साउन, २०७७ काठमाडौं । विश्वकप छनोट प्रतियोगिताको मिति नजिकिँदै अखिल नेपाल फुटबल संघले भदौ १ गतेदेखि राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्दैछ । त्यसका लागि सबै खेलाडी सम्पर्कमा आएका छन् । कोरोना भाइरसको संक्रमणकाबीच प्रशिक्षण सुरु गर्न एन्फाले कस्तो तयारी गरेको छ त ?

विश्वकप छनोट प्रतियोगिताका खेल खेलाउन एसियाली फुटबल महासंघले प्रस्ताव गरेको मिति पारित भएमा खेल सुरु हुन दुई महिनाको समय बाँकी छ । एकातिर समय निकै कम छ, अर्को तिर कोरोना भाइरसको महामारी पनि बढ्दो छ । त्यसैले अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडीको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ ।

प्रशिक्षण योहान कालिनको छनोटमा परेका ३५ जना खेलाडीलाई एन्फाले गत साता रिपोर्टिङ गर्न भनेको थियो । एसियाली फुटबल महासंघले प्रस्ताव गरे अनुसार विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले असोज २४ गते चाइनिज ताइपेईविरुद्ध र २७ गते अष्ट्रेलियाविरुद्ध दशरथ रंगशालामा प्रतिष्पर्धा गर्दैछ ।

बाँकी रहेको जोर्डनविरुद्धको होम म्याच कात्तिकमा खेलाउने एएफसीको तयारी छ । अर्को साता खेलाडीको पीसीआर परीक्षण गरेर सबैलाई एन्फाको होस्टलमा राखिनेछ । र, अभ्यास सुरु गराइनेछ ।

एन्फाले घरेलु छनोट खेल दर्शक विना खेलाउने तयारीका साथ मैदानको मर्मत तीब्र पारेको छ । छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल तीन अंकका साथ चौथो स्थानमा छ । नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ । समान १० अंक जोडेको कुवेत र जोर्डन दोस्रो र तेस्रो स्थानमा छन । अंकविहीन चाइनिज ताइपेई पाँचौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्