आर्थिक

सुनको भाउ निरन्तर आकाशिदै, व्यापार ठप्प, व्यापारीसँगै मजदुर मारमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १८ गते १९:४९
सुनको भाउ निरन्तर आकाशिदै, व्यापार ठप्प, व्यापारीसँगै मजदुर मारमा (भिडियोसहित)

१८ साउन, २०७७ काठमाडौं । सुनको भाउले निरन्तर उकालो लागेर हरेक दिन कीर्तिमानी मूल्य कायम गर्ने क्रम रोकिएको छैन् । भाउ उकालो लाग्दै गएपछि सुनको कारोबार घट्दै गएको छ ।

यसले गर्दा सुनचाँदी व्यवसायमा आवद्ध २ लाख मजदुर बेरोजगार बन्ने र उनीहरुमा आश्रित झन्डै २० लाख जना प्रभावित हुने देखिएको छ । त्यसैले ६० अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको सुनचाँदी व्यवसायलाई धराशायी हुन नदिन व्यवसायीले सरकारसँग राहतको माग गरेका छन् ।

लकडाउन सुरु हुनअघि अर्थात चैत १० गते सुन प्रति तोला ७७ हजार रुपैयाँ कारोबार भएको थियो । कारोन भाइरसको संक्रमण बढ्दै गएपछि न्यूनिकरण गर्न भन्दै सरकारले लकडाउन घोषणा गर्‍यो जसका कारण जेठ २४ गतेसम्म सुनको कारोबार समेत ठप्प रह्यो ।

तर कोरोना भाइरसको संक्रमणले अन्तर्राष्ट्रिय बजारमा देखिएको प्रभावका कारण लकडाउन सुरु भएयता मात्र सुन प्रति तोला २२ हजार ६ सयले महँगिएर ९९ हजार ६ सय पुगेको छ । यसले गर्दा सामान्य अवस्थामा यो सिजनमा दैनिक १०–१५ किलोको कारोबार हुने सुन अहिले २–३ कि‍लोमा खुम्चिएको छ ।

तत्काल भाउ घट्ने सम्भावना समेत नरहेकाले सुनको कारोबार ठप्प हुने जोखिम रहेको व्यवसायीको भनाइ छ । त्यसो हुँदा यस क्षेत्रमा आवद्ध २ लाख मजदुरले रोजगारी गुमाउने र उनीहरुमा आश्रित झन्डै २० लाख जना प्रभावित हुने डर व्यवसायीलाई छ ।

अमेरिका र चीनबीचको व्यापारमा देखिएको तिक्तता, कोरोनाले निम्त्याएको आर्थिक मन्दीलगायतका कारणले अन्तर्राष्ट्रिय लगानीकर्ताले सुनमा लगानी बढाइरहेका छन् । अन्तर्राष्ट्रिय लगानीकर्ता अन्य व्यापारभन्दा सुनतर्फ आकर्षित हुनेक्रम जारी रहेकाले सुनको भाउ अझै उका‍लो लाग्ने निश्चित छ ।

मूल्य निरन्तर उकालो लागिरहँदा सुन बेच्ने ग्राहकको संख्या बढिरहेको व्यवसायी बताउँछन् । अहिले दैनिक ५ देखि ७ किलो सुन बेच्न ग्राहकहरु आउने गरे पनि किन्न सक्ने अवस्था नरहेको भन्दै व्यवसायीले बेच्न आउनेलाई फर्काउछन् । । सुन व्यवसाय धराशायी बनेको भए पनि मौद्रिक नीतिले सबैजसो क्षेत्रलाई समेट्ने गरी राहत ल्याए पनि आफूहरुलाई उपेक्षा गरेको व्यवसायीको गुनासो छ । सुनचाँदी व्यवसायलाई बचाउन तत्काल पुनर्कर्जाको व्यवस्था गर्नेुपर्ने माग व्यवसायीको छ ।

सुनचाँदी व्यवसायमा करिब २२ हजार व्यवसायी प्रत्यक्षरुपमा संलग्न छन् भने करिब ६० अर्ब रुपैयाँको लगानी छ । सुनचाँदीको ओरोलो लाग्दो कारोबारले ठूलो संख्यामा मजदुर र तीनमा आश्रित परिवार प्रभावित बन्ने निश्चित छ ।

त्यसैले अन्य व्यवसायीलाई झै सरकारले कुनै न कुनै राहत तथा सहुलियत दिएर समस्याग्रस्त सुनचाँदी व्यवसायको क्षेत्रमा आवद्ध व्यवसायी तथा मजदुरलाई जोगाउन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *