सुनको भाउ आज पनि बढ्यो, तोलामा ३ सय बढेर ९९ हजार ६ सय रुपैयाँमा कारोबार

१८ साउन, २०७७ काठमाडौं । पछिल्लो समय उकालो लागिरहेको सुनको भाउ आज पनि तोलामा ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज ९९ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ । पछिल्ला दिनमा सुनको भाउ दैनिक बढेर उच्च विन्दुमा पुग्ने गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेका कारण त्यसको असर नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस १९ सय ७६ डलर पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण लगानीका अरु क्षेत्र बन्द हुँदा लगानीकर्ता सुनप्रति आकर्षित भएका छन् । जसले गर्दा माग बढेर सुन महँगो हुँदै गएको हो ।
अन्तर्राष्ट्रिय बजारमा माग बढे पनि नेपाली बजारमा भने सुनको माग घटेको छ । भाउ बढेको बेलामा सुन किन्ने भन्दा पनि बेच्ने ग्राहक धेरै आउने गरेको व्यवसायीले बताएका छन् ।
प्रतिक्रिया