आर्थिक

सडक एक महिनामै भत्कियो, स्थानीय बासिन्दा आक्रोशित (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १७ गते २०:३५
सडक एक महिनामै भत्कियो, स्थानीय बासिन्दा आक्रोशित (भिडियोसहित)

१७ साउन, २०७७ कैलाली । कैलालीको कैलारी गाउँपालिकामा प्रदेश र स्थानीय सरकारले लाखौं रुपैयाँ सडकका लागि खर्च गरे पनि यसले कुनै प्रतिफल दिन सकेको छैन् । बनेका सडक एक महिनामै भत्किएपछि स्थानीयबासिन्दा आक्रोसित छन् ।

कैलारी गाउँपालिकाले गत आर्थिक वर्षमा नमूना सडक बनाउने भन्दै १० वटा सडकको लागि २० लाख रुपैयाँको दरले २ करोड बजेट विनियोजन गरेको थियो । तर अधिकांश सडक निर्माणमा झारा टार्ने काम मात्रै भएको छ ।

कैलालीको कैलारी गाउँपालिकाका केहि ठाउँमा पानी पिच सडक आयोजनाका काम शुरु नै नभएर बजेट फिर्ता भएको छ । बनेका सडक पनि स्तरिय नहुँदा जनतालाई सास्ती मात्रै भएको छ ।

ग्राभेल सडकलाई कालोपत्रे गर्नुपूर्व गर्नुपर्ने स्तरोन्नतीको कार्य अर्थात पानी पीच गर्ने भन्दै निर्माण पक्षले धेरै सडकको बीचबीचमा माटो मात्रै थुपारेका कारण बर्षातमा सडक हिलाम्मे भई आवतजावतमा समस्या भएको छ।

आर्थिक वर्षको अन्त्यमा मात्रै हुने विकासे कामले स्थानीय बासिन्दा आजित छन । काम गरिएको भनिएको सडक असार नबित्दै भत्किएकाले छानविन गरि दोषीलाई कारबाही गर्नपर्ने उनीहरुको माग छ ।

निर्माण गरिएका पानी पीच सडक महिना दिन नबित्दै भत्किएका छन् । धेरै योजनाको काम समयमै सम्पन गर्ने गाउँपालिकाले उपभोक्ता समितिसँग सम्झौता गरेको थियो ।

तर अधिकांश योजना उपभोक्ता समितिले आफूले नगरी ठेकेदारमार्फत गराएको पाईएको छ । यसले गर्दा पनि सडक स्तरिय नबनेको शंका छ । तर जनप्रतिनिधि स्थानीय र प्रदेश सकार विच विकास निर्माणका काममा समन्यव नहुदाँ यस्तो समस्या आएको दावी गर्छन।

पानी पिच मात्रै नभई गाउँपालिकाले ९ वटै वडामा १–१ वटा सडक कालोपत्रे गर्न प्रतिसडक ३० लाख रुपैयाँको दरले २ करोड ७० लाख बजेट विनियोजन गरेको थियो । ती सबै योजना कार्यान्वयनको लागि पनि उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भएको थियो । तर कुनै पनि योजना सम्पन्न भएन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *