कोरोना संक्रमण फैलिएपछि बारामा भोलिदेखि निषेधाज्ञा

१७ साउन, २०७७ बारा । कोरोना संक्रमितको संख्या निरन्तर बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले भोलिदेखि लागू हुने गरी बढी भिडभाड हुने स्थान तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको र बारामासमेत दैनिक संक्रमितको संख्या बढ्दै गएकोले स्थान निर्धारण गरेर बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले आम नागरिकको जीवन रक्षा तथा रोगको संक्रमणलाई नियन्त्रण गर्न अत्यावश्यक काम बाहेक भेला हुन तथा घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।
पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया–वीरगज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरुमा निषेधाज्ञा लागू गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
प्रतिक्रिया