राजनीति

ओली र प्रचण्डबीच संवादहीनता, स्थायी कमिटी बैठक रोक्नुपर्ने ओलीको शर्त (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १६ गते २०:२८
ओली र प्रचण्डबीच संवादहीनता, स्थायी कमिटी बैठक रोक्नुपर्ने ओलीको शर्त (भिडियोसहित)

१६ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवादहीनता बढेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई निकास निस्कनेगरी छलफलमा बस्न प्रस्ताव गर्नुभएको छ ।

महासचिव विष्णुप्रसाद पौडेल मार्फत प्रचण्डले ओली समक्ष प्रस्ताव गर्नुभएको हो । तर स्थिति सहज देखिएको छैन । १३ गते एक अर्का विरुद्ध एक्सन देखाएका दुवै नेता आ–आफ्ना अडानमा यथावत छन ।

साउन १३ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक स्थगन गर्नुभयो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि वरिष्ठ नेता माधवकुमार नेपाल सहितको सहयोगमा बैठक बसाल्नुभयो । यसले दुई अध्यक्षबीच अझ तीक्तता बढेको छ ।

परिणाम संवाद पनि हुन सकेको छैन । साउन ६ गते अघि दर्जन पटक एकल भेटवार्ता गरेका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच साउन ९ गते यता एकल भेटवार्ता भएको छैन । प्रचण्डले संवादहीनता तोड्ने प्रयासमा बिहीवार महासचिव विष्णुप्रसाद पौडेलसँग छलफल गरी ओलीलाई सन्देश पठाउनुभएको छ । तर ओलीबाट सकारात्मक जवाफ आएको छैन ।

यस्तो छ प्रचण्डको सन्देश
प्रचण्डले महासचिव पौडेलसँग विहीवार लामै छलफल गर्नुभयो । र, निकास निकाल्ने गरी छलफलका लागि समय मिलाउन ओली समक्ष सन्देश पठाउनुभयो । स्रोतका अनुसार प्रचण्डले ओलीमा अरुका कुरा सुन्ने बानी नरहेको गुनासो गर्दै कुरा सुन्न र निकासका लागि काम गर्न भन्नुभएको छ ।

नेकपाका एक नेताले प्रचण्डको भनाई उधृत गर्दै भने– साथीहरुको कुरा सुन्दैमा सानो भइँदैन । सकारात्मक निकास निकाल्नेगरी समय मिलाउन भन्नुस् । तर छलफलका लागि छलफल को कुनै अर्थ नरहेको प्रचण्डको प्रष्ट धारणा छ । म केही पनि गर्दिनँ यसरी नै चल्छ भन्ने सोच त्याग्न ओलीलाई प्रचण्डको आग्रह छ ।

प्रचण्डले पार्टीभित्रको मुख्य विवाद ओलीले नै सुरु गरेकाले निकासका लागि ओलीबाटै विकल्प आउनु पर्नेमा जोड दिनुभएको छ । प्रचण्डले पौडेललाई भन्नुभएको छ–मैले पार्टी एकताकै लागि सबै कुरा छाडेकै हो नि । मैले के गर्न बाँकी छ रु सहमति अनुसारको प्रधानमन्त्री पनि छोडेर उहाँलाई पाँच वर्ष चलाउनुस भनेकै हौ ।’ ओलीले घमण्ड मात्रै गर्ने र अरुलाई प्रलोभनमा पार्ने गरेको प्रचण्डको गुनासो छ ।

अध्यक्ष छाड्न ओलीलाई प्रचण्डको सन्देश
खुमलटारमा प्रचण्डसँग छलफल गरेका महासचिव पौडेलले प्रचण्डको सन्देश ओली समक्ष पुर्याउनुभएको छ । तर संवादको वातावरण बनेको छैन । ओलीले नयाँ शर्त राख्नुभएको छ । पहिले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक रोक्नुपर्ने ओलीको शर्त छ । जारी स्थायी कमिटी बैठक रोकेर सचिवालयमार्फत निकास खोज्ने र महाधिवेशनमा केन्द्रित हुनु पर्ने ओलीको तर्क छ ।

ओलीले पौडेललाई भन्नुभएको छ– ‘पहिले स्थायी कमिटी बैठक र माग गरिएको केन्द्रीय कमिटी बैठक रोक्नुपर्छ ।’ अहिलेकै अवस्थामा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बसालेर संवाद हुन नसक्ने ओलीको प्रष्ट सन्देश छ । बैठक बोलाएर दबाब दिन खोजिएको भन्दै ओली, प्रचण्ड(नेपाल समूहका गतिविधि हेरेर कदम चाल्ने तयारीमा हुनुहुन्छ ।

महासचिव पौडेलले यसबारे दोस्रो तहका नेताहरुसँग पनि छलफल गर्नुभएको छ । संवादहीनता तोड्ने वातावरण बनाउने र दुवै अध्यक्षलाई दबाब दिने प्रयासमा महासचिव पौडेल सहितका नेताहरु लागेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्