सीपीएल ट्वान्टी ट्वान्टी क्रिकेट खेल्न सन्दीप भोलि वेष्ट इन्डिज जाने

१४ साउन, २०७७ काठमाडौं । क्यारेबियन प्रिमियर लिग सीपीएल ट्वान्टी ट्वान्टी क्रिकेट खेल्न नेपाली लेग स्पिनर सन्दीप लामिछाने भोलि वेष्ट इन्डिज जाने भएका छन् ।
कोरियल एयरलायन्सको चार्टर विमानबाट उनी भोलि प्रतियोगिताको लागि ट्रिनिडाड एन्ड टोबेगो जान लागेका हुन् । कोरोनाका कारण रोकिएको हवाई उडानका कारण यसअघि सन्दीपको यात्रा अनिश्चित बनेको थियो ।
अमेरिका हुँदै जान लागेका उनी शनिबारमात्र टोबागो पुग्ने तालिका छ । यसैबीच हिजो कोरोना परिक्षण गराएका सन्दीपको रिपोर्ट नेगेटिभ आएको छ । तर उनी वेष्ट इण्डिजमा १४ दिन क्वारन्टिनमा बस्नु पर्नेछ । सन्दीप यस पटक जमैका तलावाजबाट खेल्ने छन् ।
टोलीका मार्की प्लेयर समेत रहेका सन्दीपलाई तलावाजले १ लाख ३० हजार डलरमा अनुबन्ध गरेको थियो । सीपीएलमा उनको यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो । प्रतियोगिता ट्रिनिडाड एन्ड टोबेगोमा अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म हुनेछ ।
प्रतिक्रिया