राजनीति

बालुवाटारमा बैठक बसेर प्रधानमन्त्री ओलीकै विरुद्ध निर्णय (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १३ गते २०:०९
बालुवाटारमा बैठक बसेर प्रधानमन्त्री ओलीकै विरुद्ध निर्णय (भिडियोसहित)

१३ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेकपा भित्रको विवाद नयाँ मोडमा पुगेको छ । ओली पक्षको अनुपस्थितिमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बहुमत सदस्यको बैठकले पहिलो पटक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध निर्णय गरेको छ ।

बहुमत सदस्यको बैठकले पूर्व निर्धारित एजेण्डामा छलफल गरेर ठूलै निर्णय गर्ने अनुमान गरिएको थियो तर त्यसो नगर्दा ओली पक्षको जीत जस्तो देखिएपनि पार्टीमा पहिलो पटक ओलीका विरुद्ध बहुमत सदस्यको बैठक बसेको छ । यसले नेकपाको राजनीति अब बहुमतिय प्रक्रियामा अघि बढेको संकेत गरेको छ ।

एक हप्ता स्थगित गरेर मंगलवार बिहान एघार बजेका लागि बोलाइएको बैठक नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय ढंगले स्थगित गरिदिनुभयो । जुन कुुरा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत पछि थाहा पाउनुभयो ।

तर ओलीले एकपक्षीय ढंगले बैठक स्थगित गरेपनि प्रचण्ड( नेपाल समूहले बैठक बोलायो र बहुमत सदस्यको बैठक बालुवाटारमै बस्यो । ओली र ओली पक्षीय नेताले बैठक बहिस्कार गरे तर प्रचण्डको अध्यक्षतामा बसेको बैठकले पार्टी एकता भएपछि पहिलो पटक ओलीको विरुद्धमा निर्णय गर्यो ।

यो निर्णय गर्नुपूर्व प्रचण्ड( नेपाल समूहले ओलीलाई बैठकका लागि मनाउने कोशिस पनि गरेको थियो । कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले ओलीसँग छलफल पनि गर्नुभयो । तर त्यो सफल भएन, किनकी ओलीले बैठक बस्न मान्नुभएन । त्यसपछि बसेको बैठकले ओलीका विरुद्ध निर्णय गर्यो ।

सोमबार पूर्वनिर्धारित एजेण्डामा छलफल गर्ने निष्कर्ष निकालेको प्रचण्ड नेपाल समूहले ओलीको आक्रामक व्यवहार देखेपछि मंगलबार त्यसो गरेन । बरु ओलीले बैठक स्थगित गरेको विषयमै केन्द्रीत रहेर छलफल गरियो ।

४४ मध्ये २९ अर्थात बहुमत सदस्य उपस्थित स्थायी कमिटी बैठकले त्यसो गर्नुको कारण सकेसम्म ओलीका विरुद्ध अर्को अप्रिय निर्णय गर्नु नपरोस भनेर अथ्र्याइएको छ । अर्थात सहमतिको प्रयासमै नियमित एजेण्डामा बैठक प्रवेश गरेन ।

प्रचण्ड नेपाल समूहको निष्कर्ष छ, पार्टी एकता गम्भीर संकटमा छ । त्यसैले फेरि पनि स्थायी कमिटीको पूर्ण बैठक बस्ने र सहमति खोज्ने जिम्मेवारी कार्यकारी अध्यक्ष प्रचण्डलाई दिइएको छ । अर्को बैठकका लागि प्रचण्डले ओलीसँग छलफल गर्नुहुनेछ ।

मंगलबार स्थायी कमिटी बैठक बस्नु अघि सोमबार नै ओली र प्रचण्ड नेपाल समूहले आ–आफ्ना तयारी गरेका थिए । प्रचण्ड नेपाल समूहले नियमित एजेण्डामा प्रवेश गरी बहुमतका आधारमा निर्णय गर्ने र ओली पक्षले त्यसलाई रोक्ने योजना बनाएको थियो । तर ओलीले बैठक नै स्थगित गरिदिनुभयो ।

सर्सती बाहिरबाट हेर्दा मंगलवारको ब्याटलमा ओलीले जिते जस्तो देखिएको छ तर प्रचण्ड–नेपाल समूहले बहुमतका आधारमा पहिलो पटक ओलीकै विरुद्ध निर्णय गरेको छ । यसले नेकपाको विवाद नयाँ मोडमा प्रवेश गरेको छ । थप सहमति हुन नसके बहुमतका आधारमा प्रचण्ड नेपाल समूह अघि बढ्ने यसले संकेत पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्