लकडाउन अन्त्यसँगै सामान्य बन्दै जनजीवन, पोखराको पर्यटन क्षेत्रको फिरेन प्राण (भिडियोसहित)
१३ साउन, २०७७ पोखरा । लकडाउनको अन्त्यसँगै जनजीवन सामान्य हुँदै गएको छ । नागिरक आ–आफ्नो दैनिकीमा फर्किरहेका छन् । तर, पर्यटन क्षेत्र भने अझै सञ्चालन हुन सकेको छैन । जसका कारण पर्यटकीय नगरी पोखराको फेवातालमा डुंगा चलाएर गुजारा गर्नेहरु अझै लकडाउनमै छन् ।
शिव परियारको गीतमा भने जसरी पोखराको फेवातालमा डुंगा सलल नभएको चार महिना भैसक्यो । कोरोना भाइरस रोकथामका लागि देश लकडाउनमा गएसँगै फेवातालका डुंगा पनि लक्ड भए ।
अहिले लकडाउन खुलेको छ तर डुङ्गा खियाउने बहानाले फेवातालको पानी छुन पाएका छैनन् । डुङ्गा चालक हरेक ताल किनारमा आउँछन् । डुंगामा भरिएको पानी फाल्छन् । डुंगा पुछेर चिटिक्क पार्छन् र घर फर्कन्छन् ।
फेवातालमा डुंगा चलाउनेले यसअघि कहिल्यै यस्तो संकट बेहोर्नु परेको थिएन ।
फेवातालमा ७ सय ५० भन्दा धेरै डुंगा छन् । २ सय जना भन्दा बढी मजदुरको आम्दानीको श्रोत नै यही डुंगा चलाएर आउने पैसा थियो । उनीहरुले महिनाको ५० हजार रुपैयाँसम्म कमाउने गरेका थिए । तर अहिले पेशा बन्द छ र आम्दानी सुको पनि छैन ।
लकडाउन खुकुलो भए पनि सरकारले फेवा तालमा डुंगा चलाउने अनुमति दिएको छैन । ४ महिना भन्दा लामो बन्दाबन्दीले नियमित काममा फर्कन नपाएका डुंगा चालक सरकारको अनुमति पर्खेर बसेका छन् । तर सरकारले अनुमति दिए पनि पहिलाजस्तै आम्दानी हुनेमा उनीहरुलाई शंका छ ।
प्रतिक्रिया