कोरोना भाइरस अहिलेसम्मकै गम्भीर विश्वव्यापी संकटः डब्लुएचओ

१३ साउन, २०७७ काठमाडौं । कोरोना भाइरस अहिलेसम्मकै गम्भीर विश्वव्यापी स्वास्थ्य संकट भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
कोरोना संकट हालसम्मकै खराब स्तरको भएको भन्दै डब्ल्यूएचओले चेतावनी दिएको हो । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ५० हजार नाघेपछि डब्ल्युएचओको यस्तो चेतावनी आएको हो ।
कोभिड–नाइन्टिन डब्ल्यूएचओद्वारा घोषित सबैभन्दा गम्भीर विश्वव्यापी स्वास्थ्य संकट भएको डब्ल्यूएचओ प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले बताए । कोरोना महामारीबारे समीक्षा गर्न डब्ल्यूएचओले यसै साता आपत्कालिन समितिको बैठक बोलाउने तयारी गरेको छ ।
विश्वभर गएको जनवरी ३० मा स्वास्थ्य संकटकाल घोषणा गर्दा चीन बाहिर एक सय जनामा पनि संक्रमण नदेखिएको तथा कसैको मृत्यु नभएको डब्ल्युएचओले उल्लेख गरेको छ ।
कोरोनाले विश्वलाई नै बदलिदिएको तथा यसले मानिसलाई, समुदायलाई र देशहरूलाई एकसाथ ल्याइदिएको र अलग समेत पारिदिएको गेहब्रेयससको भनाइ छ ।
लामो समयको लकडाउन कोरोनाको जोखिमबाट जोगिने उपाय नभएपनि मास्कको प्रयोगसँगै सरसफाइ र स्यानिटाइजर प्रयोगमा पनि पर्याप्त ध्यान नदिइएकोमा उनले चिन्ता व्यक्त गरेका छन् । यसअघि डब्ल्यूएचओले इबोलालाई दुई पटक, जीका, पोलियो र स्वाइन फ्लुलाई स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमित हुने उनी अहिलेसम्मका सबैभन्दा शीर्ष अमेरिकी अधिकारी हुन्।
प्रतिक्रिया