राखेप सदस्य सचिवमा सिलवाल पुनः नियुक्त
१२ काठमाडौं । रमेश कुमार सिलवाल राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा पुनः नियुक्त भएका छन् ।
गत महिना नयाँ खेलकुद विकास ऐन लागु भएपछि राष्ट्रिय खेलकुद परिषद् नेतृत्वविहीन बनेको थियो ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले सिलवाललाई सदस्य सचिवमा नियुक्त गरेको हो । यसै गरी खेलकुद विकास ऐन २०७७ अनुसार बैठकले शिव कोइरालालाई राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष चयन गरेको छ ।
खेलकुद विकास ऐन २०४८ अनुसार यसअघि सदस्य हुँदै सदस्य सचिव भएका सिलवाल नयाँ ऐन लागू भएपछि पदमुक्त भएका थिए ।
त्यसपछि युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया संयोजक तथा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सदस्य सचिव सिफारिस समिति गठन गरिएको थियो ।
मन्त्रिपरिषद्को निर्णय अनुसार सिलवाल नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारी सचिव सरहको सेवा सुविधाका साथ राखेपका सदस्य सचिव भएका हुन् । उनले मंगलबार राखेपमा पुगेर पदभार ग्रहण गर्ने बताइएको छ ।
प्रतिक्रिया