बाँकेका सडकमा छाडा पशुचौपायाको बिगबिगी, हैरान प्रहरी ! (भिडियोसहित)

१० साउन, २०७७, नेपालगञ्ज । बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रका मुख्य सडकमा छाडा चौपायाको बिगबिगी बढ्दै गएको छ । वर्षातका कारण ओभानो र सुख्खा ठाउँको खोजी गर्दै छाडा चौपाया सडकमा निस्किएपछि समस्या भएको छ ।
छाडा चौपायाको संख्या बढ्दै गएपछि नेपालगन्जको सडक क्षेत्र चौपायाको बासस्थानमा परिणत हुँदै गएको छ । छाडा चौपायाका कारण सवारी साधन चलाउनेलाई कठिन हुन थालेको छ ।
छाडा चौपायाकै कारण हरेक दिन दुर्घटना पनि हुने गरेको छ । पछिल्ला दिनमा चोकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीको मुख्य काम नै छाडा चौपाया धपाउने भएको छ ।
छाडा चौपायाको व्यवस्थापन स्थानीय सरकारका लागि अहिले टाउको दुखाइको विषय बनिरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले छाडा चौपायाको समस्या कम गर्न काञ्जी हाउस सञ्चालन गरे पनि सडकमा छाडा चौपायाको संख्या खासै घटेको छैन ।
प्रहरीले छाडा गाइवस्तु नियन्त्रणका लागि स्थानीय प्रशासन र नेपालगन्ज उपमहानगरपालिकासँग समन्यव गरेर कान्जी हाउससम्म पुर्याउने अभियान चलाइरहेको छ ।
बाँकेमा गत वर्ष भएका १ सय ९१ वटा सबारी दुर्घटनामा ७३ जनाको मृत्यु भएको थियो । जसमध्ये छाडा चौपायाका कारण १० वटा सवारी दुर्घटनामा ५ जनाको मृत्यु र ४ जना घाइते भएको प्रहरी तथ्याँक छ ।
प्रतिक्रिया