राजनीति

ओलीले पार्टी फुटाउन खोजेको प्रचण्डको आरोप–’ओलीकै सक्रियता मै एमाले दर्ता ‘ (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ९ गते १९:५७
ओलीले पार्टी फुटाउन खोजेको प्रचण्डको आरोप–’ओलीकै सक्रियता मै एमाले दर्ता ‘ (भिडियोसहित)

९ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीकै कारण पार्टी गम्भीर संकटमा परेको टिप्पणी गर्नुभएको छ । नेकपाका पहिलो वरियताका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको प्रचण्डको दावी छ ।

पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाललाई अगाडि राखेर प्रचण्डले ओलीमाथि हमला गर्नुभयो । यसले नेकपा भित्रको विवाद सहजै समाधान नहुने संकेत गरेको छ ।

ओलीमाथि प्रचण्डको आक्रोश र आरोप
नेकपा भित्रको विवाद मिल्यो भन्ने अनुमान गरिएपनि शुक्रवार प्रचण्डले त्यस्तो नभएको प्रष्ट पारिदिनुभयो । उहाँका अनुसार पार्टी गम्भीर संकटमा र, यो सबै पहिलो वरियताका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका कारण भैरहेको सार्वजनिक रुपमै बोल्नुभयो ।

प्रचण्डका अनुसार ओली पार्टी फुटाउँदै हुनुहुन्छ । झण्डै एक महिना अघि नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा दिइएको निवेदन सबै ओलीकै सक्रियता र पहलमा भएको आरोप लगाउनुभयो ।

त्यति मात्रै होइन, एमाले पार्टी दर्ता देखि पार्टी विभाजन गर्न ओलीले के के गर्दै हुनुहुन्छ भनेर पनि प्रचण्डले आफू पक्षीय नेता कार्यकर्ता माझ खुलेर राख्नुभयो । त्यसमध्ये एउटा हो ओलीको निर्देशनमा अरु नेता विरुद्ध भैरहेको प्रदर्शन ।

अहिले जबजको प्रचार पार्टी फुटाउने कदम
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र ओली पक्षधर नेताहरुले जनताको बहुदलीय जनवादलाई वैचारिक कार्यदिशा बनाउनु पर्छ भनेर गरेको लविङ पनि पार्टी फूटाउने योजनाकै एउटा कडी भएको प्रचण्डको बुझाई छ ।

निर्णय गराउने दलाल, ढिला गर्नेको देवत्वकरण
नेपालको नयाँ नक्सा छाप्ने सन्दर्भमा पनि ओलीले द्वैध चरित्र देखाएको प्रचण्डको आरोप छ । जेठ २ गते सचिवालय बैठक बस्दासम्म नक्सा छाप्ने ओलीको योजनामै प्रचण्डको दावी छ । तर पार्टीले निर्णय गरेपछि मात्रै नीति तथा कार्यक्रममा नयाँ नक्सा छाप्ने विषय समेटेका ओलीले आफूलाई राष्ट्रवादी र अरुलाई राष्ट्रघाती देखाउने गलत प्रयत्न गरेको भन्दै प्रचण्डले कडा आपत्ति जनाउनुभयो ।

पार्टीलाई आफ्नो अधिनमा राख्ने ओलीको प्रयास
प्रधानमन्त्री ओली कम्यूनिष्ट पार्टीका नीति र सिद्धान्तमा नचलेको भन्दै प्रचण्डले गम्भीर प्रश्न उठाउनुभएको छ । ओलीमा सामूहिकता भन्ने सोच नै नरहेको र पार्टीको सामूहिक प्रणालीलाई पुरै उपेक्षा बसेर सरकार मार्फत पार्टी चलाउने खोजेको प्रचण्डको आरोप छ ।

माधवकुमार नेपाललाई अगाडि राखेर प्रचण्डले ओलीमाथि गरेको हमलाले नेकपा भित्र संकट गहिरिएको र सहजै समाधान नहुने संकेत गरेको छ । र, यो ओलीमाथि दबाब बढाउने प्रयास मात्रै होइन भने संभवत यसको परिणाम आगामी बैठक र क्रियाकलाप मार्फत देखिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्