सुनको मूल्यमा अर्को कीर्तिमान, तोलामा पाँच सय बढेर ९४ हजार पाँच सयमा कारोबार

८ साउन, २०७७ काठमाडौं । सुनको मूल्यमा आज पुनः कीर्तिमान कायम भएको छ । प्रतितोला पाँच सय रुपैयाँले बढेर सुनको भाउ ९४ हजार पाँच सय रुपैयाँ पुगेको छ ।
नेपाली बजारमा आज छापावाल सुन तोलाको ९४ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य भने ९४ हजार ६५ रुपैयाँ प्रतितोला तोकिएको छ ।
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोता मूल्य ११ सय ४५ रुपैयाँ कायम भएको छ । मूल्य आकासिएसँगै बजारमा सुनचाँँदी खरिद गर्ने ग्राहक नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विश्व अर्थतन्त्रमा देखिएको कोरोना असरका कारण सुनको भाउ बढेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार डलरसम्म पुग्ने आकलन गरिएकाले त्यसको असर नेपाली बजारमा अझै पर्न सक्ने बज्राचार्यको भनाइ छ ।
प्रतिक्रिया