नियमन नहुँदा कैलालीमा महंगी आशासियो, यस्तो मारमा मध्यम वर्ग (भिडियोसहित)

६ साउन, २०७७ धनगढी । कैलालीमा बजार अनुगमन र नियमन नहुँदा उपभोक्ताको ढाड सेक्ने गरेर मूल्यवृद्धि भइरहेको छ । महंगीले दैनिक ज्यालामजदूरी गरी छाक टार्ने वर्ग बढी समस्यामा परेको छ । लामो समयको लकडाउनले आम्दानी घटेका विपन्न र निम्न मध्यम वर्गीय परिवारलाई भान्साको खर्च जुटाउन नै हम्मे परिरहेको छ ।
लकडाउनकको मोडालिटी परिवर्तन गरेपछि कैलालीमा सबैजसो उपभोग्य बस्तुमा मुल्यवृद्धि भएको छ । बजारमा दैनिक खाद्यान्नदेखि उपभोग्य बस्तुको मुल्यसमेत वृद्धि भएपछि उपभोक्ता महङ्गीको मारमा परेका छन् ।
तरकारी, माछामासु, फलफुल, दलहन, तेलहन तथा लत्ता कपडाको मुल्य १५ देखि ५० प्रतिशतसम्म बढेको छ । बजार अनुगमन नभएकाले अनियन्त्रित मूल्यवृद्धि भएको उपभोक्ताको बुझाई छ ।
तरकारीमा प्रतिकिलो १० देखि ५० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । सबैभन्दा बढि मासुको मुल्य बढेको छ । लकडाउन अघि प्रतिकिलो ३ सय रुपैयाँमा पाइने कुखुराको मासु अहिले ४ सय ५० रुपैयाँ पुगेको छ ।
माछाको ४ सय र खसीको मासु प्रतिकिलो साढे ८ सय छ । लकडाउनमा देशभर कुखुरा मरेकाले अहिले माग अनुसार उत्पादन नभएकाले मुल्य बढेको मासु ब्यवसायीको दाबी छ ।
सयुक्त बजार अनुगमन समितिले लकडाउन शुरु भएको समयमा बजार अनुगमन गरे पनि अहिले गरेको छैन। धनगढी उपमहानगरपालीकाको बजार अनुगमन समितिले उपभोग्य बस्तुको मुल्य बढेको स्वीकारेको छ । तर अनुगमन गरेको छैन । अब साउनको तेस्रो हप्ता देखि पुनः बजार अनुगमन गर्ने धनगढी उपमहानगरपालीकाको तयारी छ ।
दैनिक उपभोग्य वस्तुको मुल्य दिन प्रतिदिन बढ्दै गए पनि नियमनकारी निकायको ध्यान नजाँदा त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन । लकडाउनमा केहि ब्यवासायीलाई सरकारले कालोबजारी गरेको भन्दै कारबाही गरे पनि २ महिना यता बजार अनुगमन हुन सकेको छैन् ।
प्रतिक्रिया