राजनीति

पूर्व माओवादीको प्रचण्डलाई सुझावः स्थायी समीकरण नबनाऊ, ओलीसँगै समझदारीबाट समाधान ! (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ५ गते २०:४३
पूर्व माओवादीको प्रचण्डलाई सुझावः स्थायी समीकरण नबनाऊ, ओलीसँगै समझदारीबाट समाधान ! (भिडियोसहित)

सत्तारुढ नेकपाभित्र पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यले स्थायी रुपमा समीकरण बनाएर संघर्ष नगर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन । पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यको खुमलटारमा भएको छलफलमा उनीहरुले स्थायी समीकरणले समाधान नदिने बताएका हुन ।

उनीहरुले मुद्दा र विचारका आधारमा केपी शर्मा ओली र माधवकुमार नेपालसँग सहकार्य र समीकरण बनाउन सुझाव दिएका छन । १३ जना स्थायी कमिटी सदस्यको यो सुझावले प्रचण्ड ओलीसँग लचिलो हुने संकेत देखिएको छ । तर उनीहरुले ओलीको पनि चर्को आलोचना गरेका छन । योसँगै प्रचण्डले पूर्व माओवादी समूह आफ्नो साथमा रहेको सन्देश पनि दिनुभएको छ ।

ओलीले निकास दिनुपर्छ
पूर्व माओवादी समूहले पहिलो अध्यक्ष र प्रधानमन्त्री भएकाले निकास केपी शर्मा ओलीले नै दिनुपर्ने निष्कर्ष निकालेको छ । उनीहरुले ओलीको भूमिकाप्रति चर्को असन्तुष्टि जनाएका छन । बैठकबाट भाग्ने, शक्तिमा बसेर पार्टी भित्रै प्रतिपक्ष बन्ने र घुर्काउने काम ओलीले गरिरहेको पूर्व माओवादी समूहका नेताहरुको ठहर छ । शक्तिमा बसेकोले निकास ओलीले नै दिनुपर्ने उनीहरुको माग छ । त्यसका लागि ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्ये एउटा छोड्नुपर्छ ।

मंसिरमा महाधिवेशन असम्भव
खुमलटार छलफलले प्रधानमन्त्री ओलीले भने जस्तो अर्लि महाधिवेशन अर्थात मंसिरमा महाधिवेशन संभव नभएको ठहर गरेको छ । मंसिरमा महाधिवेशन लटरपटर मात्रै हुने र त्यसले निकास नदिने भएकोले महाधिवेशनका लागि समय चाहिने बताएका छन । जसमा प्रचण्डको पनि सहमति देखिएको छ । विचार, एकताका काम र सदस्यता समेत टुंगो नलागी हुने महाधिवेशनले समस्या समाधान हुँदैन । तर केहीले पनि ईच्छा शक्ति भए मंसिरमा महाधिवेशन हुन सक्ने तर्क पनि अघि सारेका छन ।

जबज स्वीकार नगर्ने
पूर्व माओवादी खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादलाई पार्टीको कार्यदिशा बनाएर जान प्रस्ताव गर्नुभएको छ ।र, त्यो प्रस्ताव मानेमा प्रचण्डलाई महाधिवेशनबाट एकल अध्यक्ष बनाउने वचन समेत दिनुभएको छ ।तर खुमलटारमा भेला भएर पूर्व माओवादी सम्वद्ध स्थायी कमिटी सदस्यले त्यसलाई अस्वीकार गरेका छन । उनीहरुले एकताको आधारलाई भत्काउने र पछाडि फर्काउने गरी आएको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन । उनीहरुका अनुसार जबज स्वीकार गर्नु अहिले पछाडि फर्कनु हो ।

ओली र नेपालसँग मुद्दा र विचारका आधारमा सहकार्य
पूर्व माओवादी समूहको छलफलले मुद्दा र विचारका आधारमा ओली र नेपालसँग सहकार्य र समीकरण बनाउने निष्कर्ष निकालेको छ । अर्थात वरिष्ठ नेता माधवकुमार नेपालसँग मिलेर ओलीसँग संघर्ष गरिरहेका प्रचण्डले अब ओलीसँग मिलेर जान सक्ने यसले संकेत गरेको छ । तर नेपालको साथ नछोडेरै समाधानको कोशिस गरिने छलफलमा सहभागी एक नेताले बताए । उनले भने ‘स्थायी गुटबन्दी र समीकरण कसैसँग हुँदैन । मुद्धाका आधारमा सहकार्यको नीति अगाडि बढ्नुपर्छ । ’ उनका अनुसार हिजो ओलीसँग मिलेर एकता भयो, आज नेपालसँग मिलेर विधि पद्धतिको खोजि भैरहेको छ । र, निकास निकाल्ने क्रममा सहकार्य र समीकरण फेरिन पनि सक्छ । ओलीसँग नमिली समस्या समाधान नहुने पूर्व माओवादी समूहको निष्कर्ष छ ।

मिल्ने कि फुट्ने बिकल्प मात्र बाँकी
लामो समयसम्म पनि समाधान फेला नपर्दा स्थायी कमिटी सदस्यहरु आजित छन । त्यसैले उनीहरुले छिटो मिल्ने कि फुट्ने बाहेक अरु कुनै विकल्प देखेका छैनन । पूर्व माओवादी समूहको छलफलमा पनि यो कुरा उठ्यो । अब निहुँ खोजेर बस्ने र निकास ननिस्कने अवस्थाको अन्त्य गर्न उनीहरुको माग छ । उनीहरुले प्रचण्डलाई फूटेर निकास दिने कि मिलेर निकास दिने मात्रै बाटो रहेको भन्दै मिलेर जान सुझाव दिएका छन । फुट्नु जनमतको अपमान उनीहरुको ठहर छ ।

स्थायी कमिटीमा फर्कनुपर्ने
साउन १० गतेदेखि शुरु भएको नेकपाको स्थायी कमिटी बैठक सातौं पटक स्थगन भैसकेको छ । मंगलवार पनि बैठक बस्छ बस्दैन भन्ने टुंगो छैन, त्यसैले पूर्व माओवादी समूहले स्थायी कमिटी बैठक बसाल्न र एजेण्डामा छलफल गरेर निकास खोज्नुपर्नेमा जोड दिएको छ । पार्टी अध्यक्ष, वरिष्ठ नेताहरुबीच र सचिवालयमा छलफल भएपनि विधि बसाल्न स्थायी कमिटीमै फर्किनुपर्ने उनीहरुको माग छ ।

पूर्व माओवादी समूह एक ठाउँ
ओली र नेपाल समूहका स्थायी कमिटीका सदस्यहरुसँग पनि छलफल गरेका प्रचण्डले सोमवार पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यसँग छलफल गर्नुभयो । जुन पार्टी भित्रको अन्तरसंघर्षमा पूर्व माओवादी एकै ठाउँ रहेको सन्देश दिनु थियो । र, छलफलको निष्कर्ष महाधिवेशनसम्म पूर्व माओवादी एक मत भएर जानुपर्ने रहे छलफलमा सहभागी नेताले बताएका छन । रामबहादुर थापा, जनार्दन शर्मा र लेखराज भट्ट उपस्थित नभए पनि उनीहरुको साथ रहेको दावी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्