बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या चार पुग्यो

५ साउन, काठमाडौं । बाढी पहिरोमा परेर पछिल्लो पटक काठमाडौं, दार्चुला र तेह्रथुममा चार जनाको मृत्यु भएको छ ।
दार्चुलाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उहाँकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यसैगरी, पहिरोले पुरिएर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर १, गागलफेदीमा एक जनाको मृत्यु भएको छ।
हिजो साँझ आएको पहिरोमा पुरिएर लमजुङ स्थायी ठेगाना भएका २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको वडाध्यक्ष मुकुन्द गजुरेलले जानकारी दिनुभयो ।
यसैगरी, तेह्रथुमको लागीगुराँस नगरपालिका वड नम्बर नौ सोल्मामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।
सोल्माको भालु खोलाले बगाउँदा म्याङलुङ नगरपालिका वडा नम्बर ६ की ३७ वर्षीया अञ्जना लिम्बूको मृत्यु भएको हो । उहाँका श्रीमान भेषराज लिम्बूले भने करिब १ सय मिटर तल पुगेपछि बुट्ट्यान समाएर जोगिनु भएको छ ।
प्रतिक्रिया