समाज

लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल बन्दै (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ५ गते १७:१८
लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल बन्दै (भिडियोसहित)

५ साउन २०७७ लुम्बिनी । लकडाउनकैबीच लुुम्बिनी विकास गुरुयोजनाअन्तर्गत लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्र धमाधम निर्माण भइरहेकोछ । लुम्बिनीमा पर्यटकीय आकर्षण बढाउन थालिएको ध्यान केन्द्रको ९० प्रतिशतभन्दा बढी निर्माणको काम सकिएको छ ।

लकडाउनकैबीचमा बौद्ध सभाहल र ध्यान केन्द्रको पुरै छानो बनाएर सकिएको छ । मौसम अनुसार ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने कोरियन प्रविधिको इपीसएस प्यानलको छानो राखिएको छ ।

१२ हजार ७ सय वर्गमिटर फल्स सिलिङको काम मात्र बाँकी छ । अहिले ५० भन्दा बढी मजदुर र कालिगढ काम गरिरहेका छन । लकडाउनकै बीच पनि निर्माण कार्य चलिरहेको ठेकेदार कम्पनीले जनाएको छ ।

ध्यान केन्द्रको क्षेत्रफल ८ हजार ३ सय वर्गमिटर छ । १० मिटर गहिराईका १ सय ४० वटा पाइल फाउण्डेसन बनाइएको छ । पाइल फाउण्डेसनमाथि एक वर्गमिटर गोलाईको ४० वटा पिलरमा छानो राखिएको छ । छाता शैलीमा बनाइएको अत्याधुनिक र सुविधा सम्पन्न हल नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको छ। यसमा ५ हजार जना जम्मा भएर कार्यक्रम गर्न मिल्नेछ ।

ठूलठूला राष्ट्रिय, अन्तर्राष्ट्रिय सभा समारोह र ध्यान शिविर गर्न मिल्ने गरी हल बनाइएको छ । हललाई सानो ठूलो आकारमा विभाजन गरेर पनि कार्यक्रम गर्न सकिनेछ । निर्माण कार्य समयमै सकेर राष्ट्रिय, अन्तर्राष्ट्रिय सभा समारोह गर्ने लुम्बिनी विकास कोषको योजना छ ।

पहिलो चरणको आयोजना अन्तर्गत अनक अर्घाखाँची, बाबुल जेभी कंपनीले २८ करोड १३ लाखमा ठेक्का लिएको हो । २०७४ चैत ६ गते संझौता भएको हल २०७६ चैत ५ गते संपन्न गर्ने लक्ष्य थियो । तर अब दुई महिना भित्रै निर्माण पूरा हुने बताईएको छ ।

पहिलो चरणको काम सकिएपछि हलमा कार्यक्रम संचालन गर्न सकिनेछ । त्यसलाई व्यवस्थित रुपमा संचालन गर्न थप पुर्वाधार बनाउन दोस्रो चरणको ठेक्का ईस्टिमेट र लागत समेत तयार गरिएकोछ । दोस्रो चरणको निर्माणका लागि ३८ करोड लाग्ने अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *