प्रदेश २ मा थप ५० जनामा कोरोना संक्रमण पुष्टि, बाराको देवताल गाउँपालिका निषेधाज्ञा

५ साउन, २०७७, धनुषा । प्रदेश २ मा आज थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
५० जना संक्रमितमध्ये ४६ जना बारा र ४ जना पर्साका बासिन्दा रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।
डा. उपाध्यायका अनुसार बाराका ४६ जना देवतल गाउँपालिकाको क्वारन्टिनमा रहेका छन् । संक्रमितमध्ये दश जना महिला रहेको पनि उपाध्यायले जानकारी दिनुभयो ।
पर्साका चार जना भने होटल कुमु प्यालेसको क्वारन्टिनमा बसेका छन् । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ ।
बाराको देवताल गाउँपालिका निषेधाज्ञा
४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय बाराले देवताल गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम देवताल गाउँपालिकाभर निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।
देवताल गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयबाट प्रदान गरिदै आएको सम्पूर्ण सेवा आजदेखि अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको छ।
अत्यावश्यक औषधी, ग्याँस, दूध, तेल बाहेकमा अन्य सम्पूर्ण पसल पूर्ण रूपमा बन्द गर्ने गराउने, अत्यावश्यक काम बाहेक अन्य कोही पनि नागरिक भेला हुन तथा घर बाहिर निस्कन प्रतिवन्ध लगाइएको छ ।
त्यस्तै देवताल गाउँपालिकासँग जोडिएका नगरपालिका तथा गाउँपालिकाबाट देवताल गाउँपालिकामा आवतजावत गर्न निषेध गरिनुका साथै गाउँपालिकाभित्र कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यक्रममा पनि प्रतिवन्ध लगाइएको छ ।
प्रतिक्रिया