समाज

निरन्तरको वर्षाले सर्लाही सदरमुकाम मलंगवाका सरकारी कार्यालय डुबान

हिमालय टिभी
२०७७ साउन ५ गते १३:०३
निरन्तरको वर्षाले सर्लाही सदरमुकाम मलंगवाका सरकारी कार्यालय डुबान

५ साउन, २०७७, सर्लाही । निरन्तरको वर्षाले सर्लाही सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् ।

भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चोक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएको स्थानीयले बताएका छन ।

निरन्तर वर्षा भइरहँदा जिल्लाका विपन्न, सुकुम्वासी र पिछडिएका दलित परिवार प्रभावित भएका छन् । जिल्लाको वाग्मती, लखन्देही, फूलजोर, कालिन्जोर, बाँके, मनुष्मारा, झिमलगायतका खोलामा जल सतह बढेको छ ।

खोलाले केही ठाउँमा खेतीयोग्य जमीन कटानसमेत गरेको छ । गहिरो स्थान र निकास नरहेका ठाउँहरुमा पानी जमे पनि जनधनको क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो ।

आइतबारकै तुलनामा पानी परिरहे डुबानको समस्या बढ्न सक्ने उहाँको भनाइ छ । मनुसन सक्रिय भई केही दिन वर्षा हुने अनुमान गरेकाले नदी तथा खोला किनारका छेउ र चुरेभेगमा बसोबास गरिरहेका नागरिकलाई सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

यस्तै वर्षाको पानीले जिल्लाको पूर्व–पश्चिम हुलाकी र अन्य भित्री सडकसमेत हिलाम्मे हुँदा जनजीवन प्रभावित बनेको छ । सर्लाहीको विकट क्षेत्र नारायणखोलामा अविरल वर्षाका कारण सवारी आवातजावत ठप्प भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *