ह्यान्ड स्यानिटाइजर दर्ता अवधि थप गरेकोमा आन्दोलनमा औषधि उत्पादक

२९ असार, २०७७ काठमाडौं । ह्यान्ड स्यानिटाइजर दर्ताका लागि सरकारले तीन महिना समय थप गरेकोमा नेपाल औषधि उत्पादक संघ आन्दोलनमा उत्रिएको छ ।
सरकारले गुणस्तरको सुनिश्चितता गरेर बिक्रीवितरण गर्नुपर्नेमा बिना दर्ता तीन महिना स्यानिटाइजर बिक्री गर्न दिने निर्णय गरेको भन्दै औषधि उत्पादक आन्दोलनमा उत्रिएका हुन्।
संघले पहिलो चरणको आन्दोलन अन्तर्गत सरकारको ध्यानाकर्षण स्वरुप आज औषधि व्यवस्था विभागमा धर्ना दिएको छ।
यसअघि संघले निर्णय सच्याउनुपर्ने भन्दै विभागमा पत्राचार समेत गरेको थियो। आफूहरुको माग सुनुवाइ नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको संघका महासचिव विप्लव अधिकारीले जानकारी दिनुभयो ।
सरकारले ह्यान्ड स्यानिटाइजर दर्ताका लागि तीन महिना म्याद थप्नु भनेकै बिना दर्ता बजारमा स्यानिटाइजर बिक्री वितरणका लागि अनुमति दिनु हो भन्ने संघको ठहर छ ।
कोरोना भाइरस संक्रमण बढेसँगै ह्यान्ड स्यानिटाइजरको माग बढेका छ । नयाँ उद्योग र व्यवसायीले पनि ह्यान्ड स्यानिटाइजर उत्पादन गर्न थालेका छन् ।
प्रतिक्रिया