व्यवहारिक रुपमै पेट्रोलियम पदार्थको भाउ बढाएको निगमको दाबी

२८ असार, २०७७ काठमाडौं । नेपाल आयल निगमले व्यवहारिक रुपमै पेट्रोलियम पदार्थको भाउ बढाएको बताएको छ ।
दशदिनमा दुई पटक मूल्य वृद्धि गरेको भन्दै आलोचना भइरहेका बेला निगमले ‘अटो प्राईसिङ’ भन्दा पनि व्यवहारिक रुपमा समायोजन भएको प्रष्टिकरण दिएको छ ।
भारतीय आयल निगमबाट आएको मूल्यसूची अनुसार हरेक १५ दिनमा समायोजन गर्नुपर्ने भए पनि पछिल्लो समय निगमले दश दिनमा २ पटक मूल्य बढाएको छ ।
तर अटो प्राईसिङ भन्दा व्यवहारिक मूल्य समायोजन गर्दा ३ रुपैयाँ सस्तो भएको उसको दावी छ ।। निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार घटाउनु पर्ने ठाउँमा घटाएको र बढाउनुपर्ने ठाउँमा बढाएको दावी गर्नुभयो ।
हरेक १५ दिनमा समायोजन गर्नुपर्ने प्रकृया अनुसार अहिले पेट्रोलको मूल्य १ सय ५ रुपैयाँ ५० पैसा, डिजेलको ९१ रुपैयाँ ५० पैसा र एलपी ग्यासको मूलय १४ सय ५ रुपैयाँ हुने भएपनि व्यवहारिक रुपमा समायोजन हुँदा आज पेट्रोल १ सय २, डिजेल ८८ र एलपी ग्यासको मूल्य १३ सय ७५ रहेको निगमले जनाएको छ ।
निगमले आर्थिक वर्ष २०७६÷०७७ मा १० अर्ब ८६ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्ष सकिन केही समय बाँकी रहेकाले अझै नाफा बढ्न सक्ने अनुमान निगमले गरेको छ । गतवर्ष निगमले ८ अर्ब ७५ करोड नाफा कमाएको थियो । अहिलेसम्म विभिन्न शीर्षकमा ६५ अर्ब भन्दा बढी राजस्व बुझाएको निगमले वर्षको अन्तिमसम्म ६६ अर्ब राजस्व पुग्न सक्ने अनुमान गरेको छ ।
प्रतिक्रिया