आर्थिक

अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ घट्दो, नेपालमा दश दिनमै दोस्रोपटक वृद्धि किन ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २७ गते १७:१६
अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ घट्दो, नेपालमा दश दिनमै दोस्रोपटक वृद्धि किन ? (भिडियोसहित)

२७ असार, २०७७ काठमाडौं। नेपाल आयल निगमले १० दिनमै दोश्रो पल्ट इन्धनको भाउ बढाएको छ । लकडाउनको बेला अन्तर्राष्ट्रिय बजारमा पेट्रोल र डिजेलको भाउ न्युन विन्दुमा पुग्दा पनि भाउ नघटाएको निगमले बढेको बेला चाहिँ १० दिनमै दोश्रो पल्ट भाउ बढाएको छ ।

आयल निगमले शुक्रबार मध्यरातिदेखि लागु हुने गरेर पेट्रोलियम पदार्थको भाउ बढाएको छ । जस अनुसार पेट्रोल १ सय २ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेल ८८ रुपैयाँ प्रतिलिटरमा बिक्री हुन थालेको छ । लकडाउनकै बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य न्युनतम विन्दुमा नै पुग्यो ।

अमेरिकी बजारमा त मुल्य सुन्य भन्दा पनि तल झर्यो । अर्थात इन्धन बेच्नेले किन्नेलाई उल्टै पैसा दिने अवस्था पनि आयो । तर, नेपाल आयल निगमले कुस्त नाफा कमाउन भाउ घटाएन । लकडाउनका बेला निगमलाई पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ४५ पैसा, डिजेलमा २५ रुपैयाँ ६९ पैसा र मटितेलमा ५५ रुपैयाँ ३५ पैसासम्म खुद नाफा भएको थियो । लकडाउनले सबैजसो व्यवसायी नोक्सानीमा रहँदा आयल निगमले भने त्यही बेला ३ अर्ब नाफा कमायो ।

तर अहिले अन्तर्राष्ट्रिय बजारमा मुल्य बढ्न थालेपछि निगमले १० दिनमा नै दुई पल्ट भाउ बढाएको छ । यसअघि १६ गते निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको थियो ।

निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नघटाउने तर थोरै बढ्नासाथ नाफामा कुनै असर पर्न नदिने गरी मूल्य बढाइहाल्ने गरेको छ । यस्तो प्रवृत्तिमाथि बारम्बार उपभोक्ता अधिकारवादीले प्रश्न उठाउने गरेका छन् ।

कसरी हुन्छ मुल्य समायोजन ?
पेट्रोलियम पदार्थ नेपालमा नै उत्पादन नहुने भएकाले अन्तर्राष्ट्रिय बजारमा हुने उतार चढावले नेपालमा पनि मुल्य तलमाथि हुन्छ । तर कुनै बेला पेट्रोलियम पदार्थको मुल्यवृद्धिपछि हुने आन्दोलनले सरकार ढल्थे । विपक्षी दलले संसद र सडक तताउथे । त्यसैले पेट्रोलियम पदार्थको मुल्यवृद्धिमा राजनीति हुन नदिन भन्दै २०७२ असोज १३ गतेदेखि स्वचालित प्रणालीका आधारमा इन्धनको मूल्य समायोजन गर्न थालियो । तर, पछिल्लो समय निगमले घट्दा नघटाउने र बढ्दा मात्रै बढाउने गरेर स्वचालित प्रणालीको खिल्ली उडाइरहेको छ ।

नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन आईओसीबाट पेट्रोलियम पदार्थ किन्दै आएको छ । र आइओसीले प्रत्येक अंग्रेजी महिनाको १ र १५ तारिखमा पेट्रोलको नयाँ भाउ पठाउँछ । त्यो भाउ अनुसार मूल्य समायोजन गर्नुपर्नेमा निगमले आफूअनुकूल मूल्य बढाएर नाफा लिँदै आएको छ । स्वचालित मूल्य प्रणाली लागू नगरी लकडाउनको अवधिमा निगमले ३ अर्ब रुपैयाँ नाफा कमाएको थियो ।

भाउ बढाउँदा पनि घाटा भएको निगमको दावी
आयल निगमले मुल्यविद्धि पछि पनि घाटा रहेको दावी गरेको छ । उसले अबको १५ दिनमा ५० लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय बजारभाउ बढ्न थालेकाले निगमले खरिद गर्ने मूल्य पनि बढेर आइरहेको र पछिल्लो १० दिनमा करिब ६ करोड रुपैयाँ नोक्सानी व्यहोरेको उसको दावी छ ।

भारतमा पेट्रोलियमको भाउ महँगो भएकाले नेपालबाट हुने तस्करी रोक्न पनि मूल्य बढाउनु पर्ने निगमको अर्को दावी छ । डिजेल र पेट्रोलको भाउ नेपालमा भन्दा केही बढी छ । जसले सीमा क्षेत्रबाट इन्धनको चोरी निकासी हुने गरेको छ । तर चोरी निकासी रोक्नुको साटो निगमले त्यसको मार पनि उपभोक्तामा थोपर्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *