देशभर बाढीपहिरोका कारण कम्तीमा १६ जनाको मृत्यु, ४३ जना बेपत्ता

२६ असार, २०७७ काठमाडौं । लगातारको वर्षापछि आएको बाढी पहिरोले देशका विभिन्न स्थानमा जनधनको ठुलो क्षति गरेको छ । म्याग्दी, जाजरकोट, कास्की र लमजुङमा धेरै मानवीय क्षति भएको छ ।
पछिल्लो पटक विभिन्न जिल्लामा बाढी र पहिरोबाट १६ जनाको मृत्यु भएको छ । कम्तिमा ४३ जना बेपत्ता छन् । दर्जनौ घाइते भएका छन् । कास्कीका बिभिन्न स्थानमा पहिरोमा पुरिएर ७ जनाको ज्यान गएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोट गोठाधी पधेरी खोलामा गएको पहिरोमा ५ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । पहिरोमा घरमुली ५० बर्षे टंकबहादुर थापा, उहाँकी श्रीमती ४० वर्षीया सोममाया थापा, सोममायाकी बैनीको छोरा ८ वर्षीय शितल श्रेष्ठ, छिमेकी ११ वर्षीया इसिका थापा मगर र टंकबहादुरका दाइको नाती ६ वर्षीय सुभान थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शुभास हमालले जानकारी दिनुभयो ।
यो घरमा जन्मदिनको कार्यक्रम भइरहेका बेला पहिरो गएको थियो । घाइते ८ जनाको पोखरामा उपचार भइरहेको छ ।
कहाँ कति मानवीय क्षति ?
-कास्की-७ जनाकाे मृत्यु
-लमजुङ-३ जनाकाे मृत्यु
-रुकुम पश्चिम-२ जनाकाे मृत्यु
-म्याग्दी-३ जनाकाे मृत्यु, ३१ जना बेपत्ता
-जाजरकाेट-१२ जना बेपत्ता
-गुल्मी- १ जनाकाे मृत्यु
यस्तै पोखराकै हेम्जामा पहिरोमा पुरिएर ७० वर्षीय हिमकली अधिकारीको मृत्यु भएको छ । हेम्जामा सात घर पहिरोको जोखिममा छन् । पोखरा महानगरपालिका वडा नम्बर २६ पैतेको डाडाँमा पहिरो जाँदा करिब ४५ बर्षीय विवेक परियारको मृत्यु भएको छ । पोखराको छोरेपाटन स्थित सिमलटुँडामा पहिरोले घर भत्काउँदा दुइजना घाइते भएका छन् ।
म्याग्दीका विभिन्न ठाउँमा बाढी र पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । ३१ जना बेपत्ता भएका छन् । धौलागिरि र मालिका गाउँपालिकामा बढी क्षति भएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी किरण कुवँरका अनुसार धवलागिरी गाउँपालिकामा मात्रै पहिरोमा परेर २३ जना हराइरहेका छन् ।
धौलागिरिकै ताकममा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ । यस्तै मालिका गाउँपालिकामा पनि पहिरोमा पुरिएर ९ जना हराएका छन् । रघुगंगामा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ । जिल्लामा पहिरोले ३५ देखि ४० घरमा क्षति पुर्याएको डिएसपी कुँवरले बताउनुभयो । ठाउँ(ठाउँमा पहिरो खसेर बाटो अवरुद्द भएका कारण उद्दारमा कठिनाइ भइरहेको छ ।
लमजुङमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । बेसीसहर नगरपालिका वडा नम्बर ७, सातबीसमा गएराति पहिरोले घर पुर्दा ३२ वर्षीय दीपक तामाङ, उहाँकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र ९ वर्षीय छोरा सेवाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै जाजरकोटमा पहिरोमा पुरिएर १२ जना बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका ४ सार्कीगाउँका दुइ घर बगाउँदा पाहुना बस्न आएका ४ जनासहित १२ जना हराएका हुन् । पहिरोमा परेर बेपत्ता हुनेमा ५२ वर्षीय गोपाल सार्की, उनकी पत्नि ५० वर्षीया पुष्षा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की र ११ वर्षीय छोरा अर्जुन सार्की छन् ।
त्यस्तै कलु सार्की, उनका १४ वर्षीय छोरी तिर्खा सार्की, ११ वर्षीया छोरी कमला सार्की र ६ वर्षीय छोरा सुभास सार्की पनि बेपत्ता भएका छन् । पाहुना बस्न आएका कुशे गाउँपालिका ९ चौराँटाका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय बीरेन्द्र सार्की हराइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्वर ३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा उहाँकी श्रीमती २८ वर्षीया सीता र छोरा छ वर्षीय हाविलको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो ।
गुल्मीमा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । कालिगण्डकी गाउँपालिका वडा नम्बर–४ का ६२ वर्षका यमबहादुर श्रीसको मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा काम गरिरहेका बेला खसेको पहिरोले श्रीसलाई पुरेको थियो ।
प्रतिक्रिया