समाज

देशभरका नदीहरुको बहाव बढेकाले सतर्कता अपाउन सुझाव

हिमालय टिभी
२०७७ असार २६ गते ७:४७
देशभरका नदीहरुको बहाव बढेकाले सतर्कता अपाउन सुझाव

२६ असार, २०७७ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभरका नदीहरुमा पानीको बहाव बढेकाले सतर्क रहन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कन्काई, कोशी, कमला, बागमती, नारायणी र यसका सहायक नदीमा बहाव बढेको बताएको छ ।

त्यस्तै केही नदीमा पानीको बहाव बढेर खतराको तहसम्म पुग्ने अनुमान छ । बिहान साढे ५ बजेसम्म नारायणी जलाधारको नबलपरासी, चितवन, तनहूँ, कास्की ,गोरखा, लमजुङ,स्याङजा,पर्वत,गुल्मी र आसपासका क्षेत्रमा २४ घण्टामा भारी बर्षा मापन गरिएको बाढी सूचना केन्द्रले जनाएको छ ।

आज झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र आसपास भएर बग्ने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना भएकाले तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले सूचित गरेको छ । आज कोशी, बागमती, नारायणी, पश्चिम राप्ती र कर्णाली नदीमा पानीको बहाव बढ्दो छ।

खोटाङ(ओखलढुंगाको दूधकोशी नदीको बहाव सतर्कता तहको आसपास पुगेको छ । सो क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत् जोखिमको सूचना दिइएको छ ।

आज कन्काई, कमला, बागमतीमा सतर्कताको तहसम्म बहाव पुग्ने पूर्वानुमान गरिएको छ । यस्तै मेची, बिरिङ, निन्दा, लोहन्द्रा, चिसाङ, त्रियुगा, माउली, गगान, खाडो, रातो, चुरियाखोला, लालबकैया लगायत प्रदेश १, २ र बागमती प्रदेशका नदीहरुको बहाव सतर्कताको तहसम्म पुग्ने छ ।

आज र भोलि बागमती, गण्डकी र प्रदेश ५ को मध्यपहाडी, चुरे र तराईबाट बग्ने साना नदीमा पनि आकस्मिक बहावको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महोत्तरीका विभिन्न स्थानमा पानीको बहाव बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *